
सानोथिमी(भक्तपुर), १९ माघ । कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने छ ।
बोर्डका अनुसार नियमिततर्फ सहभागी ३ लाख १० हजार ३१६ परीक्षार्थीको जीपीए विवरण प्राप्त भएको छ । नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६९१६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ भने २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।
बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए । जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।