
काठमाडौँ, १९ माघ । नेपाल कम्युनिष्ट पार्टीको बहुमत केन्द्रीय सदस्यहरु रहेको दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभए अनुसार यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएकोले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरिएको हो ।
सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको उक्त समूहको केन्द्रीय कमिटीको चौथो बैठकले यसअघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
पार्टी प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको बताउनुभयो ।
यस्तै, स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्कासन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए ।
बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देशन जारी गरेको छ ।
यस्तै, बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको समेत छ ।
‘हिजो मात्रै म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध लोकतन्त्रविरुद्ध जुन घटना घटेको छ त्यो घटनालाई हाम्रो पार्टीले अनुपयुक्त भन्दै निन्दा गरेको छ । थप घटनाक्रमको विकासलाई पार्टीले गम्भीरतापूर्वक नियाल्ने छ र पार्टी सँधै लोकतन्त्रको पक्षमा छ र त्यस प्रति हाम्रो नैतिक समर्थन रहेको छ ।’प्रवक्ता श्रेष्ठले भन्नुभयो ।