Prakash Adhikari February 2, 2021

काठमाडौं, २० माघ । ‘क’ वर्गको बाणिज्य बैंक सिटिजन्स् बैंक इन्टरनेशलले आगामी ३ वर्ष भित्र आफुलाई उत्कृष्ट १० वाणिज्य बैंक भित्र पार्ने योजना सार्वजनिक गरेको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बैंकको व्यवस्थापनले कोरोना संक्रमणको वाबजुद पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रो वित्तीय प्रगति भएको जनाउदै बैंकले आगामी दिनमा अझ आक्रामक रुपमा व्यवसायिक प्र्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।

कार्यक्रममा डेपुटी सिइओ बोधराज देवकोटाले बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा गृहकार्य भईरहेको जानकारी दिंदै भन्नुभयो “प्रकृयाका आधारमा यो काम असहज भएको महसुस समग्र उद्योगले गरिरहेको छ । तर पनि हामी बैंकलाई सबल बनाउनका लागि विदेशी रणनीतिक साझेदार भित्र्याउन गृहकार्य गरिरहेका छौं ।”

आफ्नो पूँजीको आधार सबल बनाउदै ब्यवसायिक उपस्थिति देशव्यापी बनाउन साना तथा मझौला आकारका बैंक तथा वित्तीय संस्थालाई विलय गराउँदै जाने रणनीति अख्तियार गरेको छ । यो रणनीति अनुसार आफ्नो उपस्थिति कम भएका स्थानमा प्रदेशस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई प्राप्ति गरी शाखा सञ्जाल बढाइने छ ।


बैंकका प्रवक्ता तथा एसिस्टेन्ट सिइओ उमंग शर्माका अनुसार तिनाउ मिसन विकास बैंकलाई प्राप्ति गरी फागुनभित्रबाट एकीकृत कारोबार सुरु गर्ने तयारी छ भने थप अर्को विकास बैंकलाई विलय गर्ने समझदारी अन्तिम अवस्थामा पुगेको छ ।

बैंकका डेपुटी सिईओ देवकोटाका अनुसार बैंक आफ्ना शेयरहोल्डरहरुलाई दोहोरो अंकमा प्रतिफल दिनेतर्फ अग्रसर छ ।

 

Share Now

Leave a comment.