लण्डन(संयुक्त अधिराज्य), २१ माघ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई बेलायतको ‘द हन्ड्रेड’ क्रिकेट लिगमा खेल्ने अवसर पाएका छन् । उनलाई ओभल इन्भिन्सिबल्सले टिममा यथाबत रहेको जनाएको छ।
गत वर्ष जुलाईमा आयोजना गर्न लागिएको पहिलो संस्करणको ‘द हन्ड्रेड लिग’ कोरोना भाइरसको कारण स्थगित गरिएको थियो। लिग अब २०२१ अगस्टमा सुरु हुने बताइएको छ।
बेलायतको क्रिकेट बोर्डले बुधबार रिटेन्सन गरिएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ। सन्दीप संगै आरोन फिंच, ग्लेन म्याक्सवेल, केन विलियमसन, आन्द्रे रसेल, मार्क वुड जस्ता खेलाडीहरुलाई बिभिन्न टिमले रिटेन गर्ने निर्णय गरेको छ। स्टिभ स्मिथ, मिचेल स्टार्क जस्ता खेलाडीहरुलाई भने वेल्स टिमले मुक्त गरेको छ।
सन्दीपलाई ओभल इन्भिन्सीबल्सले गत वर्ष कार्तिकमा ड्राफ्टबाट टिममा अनुबन्ध गरेको थियो। उनलाई एक लाख पाउण्ड ( करिब नेपाली रु। १ करोड ५८ लाख ) मा अनुबन्ध गरिएको थियो।
तर यो सिजनमा टिमले खेलाडीलाई पुनः टिममा अनुबन्ध गर्दा रकम घटबढ हुन सक्नेछ। खेलाडी र टिमबीच सम्झौताको आधारमा मूल्य तय भैसकेको छ जुन सार्वजनिक गरिएको छैन। सन्दीपको मध्यस्थ साया कर्पोरेसनले आज दिउसो ट्वीटमार्फत सन्दिपबारे ठूलो घोषणा हुने बताएको थियो।
सन्दीपलाई गत वर्ष ड्राफ्टमा ओभलले १ लाख पाउण्डमा भित्र्याएको थियो
लिगको लागि टिम पूरा गर्नको लागि यही फेब्रुअरी २३ तारिखमा रिक्त रहेको ३५ खेलाडीको लागि ड्राफ्ट आयोजना हुनेछ।
ओभल टिममा सन्दीप लामिछानेसहित रोरि बर्न्स, श्याम करन, टम करन, रिस टपले, एलेक्स ब्लेक, सुनिल नारायण, जेसन रोय, नाथन सोटर, श्याम बिलिंग्स, लौरी इभान्स, विल ज्याक्स रहेका छन्। अन्य खेलाडीहरु अब ड्राफ्ट पछि थपिनेछन्।
लिगमा एउटा टिमले अन्तिम(११ मा ३ जना विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ।
द हन्ड्रेड प्रतियोगितामा ओभल इन्भिन्सिबल सहित बर्मिङ्घम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओर्जिनल्स, नर्थन सुपर्चार्जर्स, साउथर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर गरि ८ टिमको सहभागिता रहनेछ ।
विश्व क्रिकेटका समर्थकलाई आकर्षक गर्ने उदेश्यले इंग्ल्याण्ड क्रिकेट बोर्डले १०० बलको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ को सुरुवात गर्न लागेको हो ।
https://twitter.com/SayaCorps/status/1356858563952533507
विश्वभर क्रिकेट लिग खेलीरहेका सन्दीप लामिछानेले द हन्ड्रेडमा पाएको एक लाख पाउण्ड सर्वाधिक रकम हो। आईपीएल टिम दिल्ली क्यापिटल्सले रिलिज गरेपछि यसै महिना हुने अक्सनमा सन्दीप लामिछानेले पहिले भन्दा महँगो रकम पाउने अनुमान गरिएको छ।
बिग ब्यास लिग खेलेर नेपाल फर्केका सन्दीप लामिछाने हाल आराम गरिरहेका छन्। अब केहि दिनभित्रै नेपाली राष्ट्रिय टिमलेगर्ने ओमान त्रिकोणात्मक सिरिजको तयारीको लागि उनी बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।


















