काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको नेतृत्व गर्ने प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केन्द्रदेखि जिल्लासम्म आफ्नो पक्षमा बहुमत रहेको दावी गर्नुभएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले सञ्चालन गरिहेको आन्दोलन र अभियानका बारेमा जानकारी दिन शुक्रबार गरिएको पत्रकार सम्मेलनमा उहाँले सो दावी गर्नुभएको हो ।
पार्टीको बहुमत पक्षको नेतृत्व गर्ने समूहका अध्यक्ष नेपालले नेपाली जनताले बनाएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पाउनुभएका प्रधानमन्त्री ओलीले संविधान सिध्याउने काम गरेकोले इतिहासले एक–एक हिसाबको बदला लिने पनि बताउनुभयो।
उहाँले अहिलेको विवादलाई नेकपाको आन्तरिक मामिलामात्र नसोच्न आग्रह गर्दै देशमा २०६२।६३ को जनआन्दोलनका पक्षधर शक्तिहरु त्यसको उपलब्धि र संविधानको संरक्षणको निमित्त उत्रिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन।’ पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले भन्नुभयो ‘लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं। अब यो हाम्रो मात्र मामिला रहेन।’
उहाँले आफ्ना असंवैधानिक कार्यका विरुद्धमा जनता उत्रिन नसकून भनेर मनोवैज्ञानिक दवाव दिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंदेखि प्रदेश राजधानीमा आर्मीका गाडी गुडाएर तर्साउन खोजेको उल्लेख गर्नुभयो ।


















