Prakash Adhikari February 5, 2021

 

काठमाडौं, २३ माघ । बहुमतको सरकार निष्कण्टक चलाउने अवसर पाइरहनुभएका प्रधानमन्त्री के.पी.शर्मा ओलीले संविधानमै नभएको अधिकारको उपयोग गरेर प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपल्ट राजधानीमा खुला आमसभा गर्न लाग्नुभएको छ ।

प्रतिनिधिसभाको असंवैधानिक विघटन र नयाँ निर्वाचनको घोषणाले पार्टी दुई समूहमा विभक्त भएपछि प्रधानमन्त्री ओलीको सरकारी नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा प्रायः सबै जनवर्गीय संगठनहरुको बन्द भेला आयोजना गरेपनि खुला आमसभा गरेको यो पहिलो हो ।

यो आमसभालाई सरकारी नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्र आफ्नो पक्षमा र आफूले चालेका राजनीतिक कदममा पाएको समर्थनको रुपमा लिन खोजेको छ । प्रधानमन्त्री ओलीले आमसभा कस्तो हुन्छ २३ गते देखाईदिने उद्घोष नै गरिसक्नुभएको थियो । प्रधानमन्त्री ओलीले यसअघि धनगढी,सिराहा र चितवनमा शक्ति प्रदर्शन गरिसक्नुभएको छ ।

आजको आमसभामा प्रधानमन्त्री ओलीले हिन्दुधर्म पक्षमा र संघीयताको विरोधमा बोल्ने अपेक्षा पनि गरिएको छ । २०६२/ ६३ को जनआन्दोलन र त्यसको उपलब्धिको रुपमा लिइएको संविधानसभाबाट निर्मित संघीयता,गणतन्त्र र समावेशितासहितको लोकतान्त्रिक संविधानले अंगीकार गरेको राजनीतिक स्थायित्वको सिद्धान्तमाथि प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेर संविधानलाई निस्प्रयोजित बनाउन खलनायकको भूमिका खेल्नुभएका प्रधानमन्त्रीले त्यसका अन्य प्रावधानहरुलाई पनि कमजोर पारेर आफू बलियो हुने उपाय खोज्ने संभावना बलियो छ ।

उहाँले केही समय पहिले पशुपतिनाथमा पूजाअर्चना गरेर हिन्दु धर्माबलम्बिहरुको मत आकर्षित गर्ने नाटक मञ्चन गरिसक्नुभएको छ । त्यो पूजा अर्चनामै सीमित रहने हो वा संविधानसम्म आउने हो भन्न सकिने अवस्था छैन् । संविधानमाथि उहाँको निरन्तर प्रहारबाट त्रसित बौद्धिक जमात भने उहाँको सरकारका मन्त्री कृष्णगोपाल श्रेष्ठले केहीदिन पहिले सामाजिक सञ्जालमा राख्नुभएको स्टाटसले पनि झस्किएका छन् । मन्त्री श्रेष्ठले आलंकारिक राजा मान्य हुने आशयको स्टाटस राख्नुभएको थियो ।

प्रधानमन्त्री निकट नेता तथा कार्यकर्ताहरु आजको सभामा ३ लाख सहभागी उतार्ने दावी गरिरहेका छन् । यसका लागि पञ्चायतकालमा मण्डलेहरुको शैलीमा खेलाडीहरुलाई उपयोग पनि गरिदैछ । केही दिन पहिले राष्ट्रिय खेलकूद परिषद्ले प्रज्ञाप्रतिष्ठानमा खेलाडीसग प्रधानमन्त्री कार्यक्रम आयोजना गरेको थियो ।

पेशागत संगठनलाई संबोधन गर्ने नाममा कर्मचारी,इञ्जिनियरहरुलाई पनि प्रयोग गरिएको र प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनका विरुद्धमा लागेको नेकपाकै पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आयोजना गर्ने विरोध कार्यक्रम र प्रधानमन्त्रीले संविधानविपरित ल्याएको अध्यादेश र त्यसका आधारमा सिफारिस गरी नियुक्ति गरिएका पदाधिकारीहरुलाई सपथ दिलाउने कार्यक्रमलाई सहयोग पुग्ने गरी नेपाली सेनाबाट राजधानी लगायत केही शहरहरुमा निकालिएको सेनाका वख्तरबन्द गाडीहरुको प्रदर्शनले आजको विरोध प्रदर्शनमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मीहरुको पनि नागरिक पोशाकमा व्यापक सहभागिता हुने संभावना देखिन्छ ।

आजको आमसभालाई प्रतिनिधिसभा विघटन गरेपछि कामचलाउ प्रधानमन्त्रीमा रुपान्तरित हुनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र केही मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

विभिन्न जिल्लाबाट राजधानी ल्याएका सर्वसाधरण नागरिकहरुलाई काठमाडौंमा विभिन्न १६ ठाउँबाट विभाजन गरेर जुुलुसहित नारायणहिटीको दक्षिण ढोकामा निर्माण गरिएको मञ्च लक्षित गरी ल्याउने तयारी छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिने छ । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

दरबारमार्गलाई सामुन्ने पारेर बनाइएको मञ्चको पूर्वीभाग जयनेपालतर्फ र पश्चिमी भाग केशरमहलतर्फ पनि सहभागी राख्ने व्यवस्था मिलाइएको बताइएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले ‘टी’ आकारमा बनाइने सभास्थलमा झण्डै एकलाख सहभागी अट्ने जानकारी दिनुभएको छ।

सहभागीहरुलाई वक्ताहरुको अनुहार र हाउभाउ र कटाक्ष हेर्न सजिलो होस् भन्नका लागि पाँच ठाउँमा डिजिटल स्क्रिन राखिने भएको छ ।

 

Share Now

Leave a comment.