Prakash Adhikari February 5, 2021

 

काठमाडौं, २३ माघ । यस बर्षको इण्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सहभागी हुन ८ जना नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघले दिएको जानकारी अनुसार यही फेब्रुअरी १८ तारिखमा आयोजना हुने मिनी अक्सनको संघले पठाएका १० खेलाडीको नाम मध्ये ८ जनाले फर्म भरेका छन् ।

अक्सनका लागि नेपाली राष्ट्रिय टिमका सन्दीप लामिछाने, बिनोद भण्डारी, करण के.सी, सोमपाल कामी, कुशल मल्ल, शरद भेसावकर, अविनाश बोहरा र दीपेन्द्र ऐरीको नाम दर्ता भएको छ ।

एसोसिएट कोटामा खेलाडी समाबेश गर्न आईपीएलसंग क्यानले समन्वय गरेको थियो। त्यस अनुसार क्यानले नेपालबाट १० जना खेलाडीहरुको नाम सिफारिस गरेको थियो। १० जना मध्ये राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले भने फर्म नभरेकोले दर्तासूचीमा समावेश हुन सकेनन् ।

नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आइपीएलका तीन संस्करणमा सहभागी भैसकेका छन भने अरु खेलाडीको यस पहिले आईपीएल अक्सनमा दर्ता भएको थिएन।

आईपीएलमा नेपालका ८ जना सहित एसोसिएट राष्ट्रबाट कुल २७ जना खेलाडीहरुले नाम दर्ता गराएका छन् त्यस मध्ये नेदरल्याण्डबाट १ जना, स्कटल्याण्डबाट ७ जना, युएईबाट ९ जना, अमेरिकाबाट २ जना रहेका छन्।

क्यानले यस अघि गत सिजनको पाकिस्तान सुपर लिगको ड्राफ्टको लागि पनि ८ जना नेपाली खेलाडीको नाम पठाएको थियो। सन्दिप लामिछाने सहित पारस खड्का, बिनोद भण्डारी, शरद भेसावकर, रोहित पौडेल, सोमपाल कामि, दिपेन्द्र ऐरी र आरिफ शेख उक्त ड्राफ्टमा रहेका थिए।तर कोही पनि छनौट भएनन् । सन्दीपले भने त्यस अघिल्लो प्रतियोगितामा मौका पाएका थिए ।

सन्दिप लामिछाने पछि हालसम्म पारस खड्का, सोमपाल कामि, करन केसी र कुशल मल्ल विदेशी लिग खेल्न छनोट भएका छन्। सोमपाल ग्लोबल टि २० लिग क्यानडा र टि १० लिग खेलेका छन् भने पारस, करन र कुशल टि१० लिगमा छानिएका छन्।

आइपिएल अक्सनमा ६१ खेलाडीहरु बिक्रि हुनेछन्। एक टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ जसमध्ये एउटा टिमले सर्वाधिक ८ जना विदेशी खेलाडी टिममा आवद्ध गर्न पाउने प्रावधान रहेको छ।

टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २१, आयरल्यान्डबाट २, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।

 

Share Now