कुशल मल्लआवद्ध टिम अबुधाबी टी १० को प्लेअफमा ; सोमपालको मराठा अरेबियन्स र करणको पुणे डेभिल्स बाहिरिए
अबुधावी(संयुक्त अरब इमिरेट्स),२३ माघ । बांग्ला टाइगर्सलाई २१ रनले पराजित गर्दै नेपाली खेलाडी कुशल मल्लआबद्ध ‘टिम अबुधाबी’ अबुधाबी टि १० लिगको प्लेअफम पुगेको छ ।
शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न सुपर लिग चरणको अन्तिम खेलमा टिम अबुधाबीले दिएको १ सय १७ रनको लक्ष्य लिएको बांग्लाले १० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाउदै नतिजा टिम अबुधाबीलाई सुम्पियो ।
बांग्लाको ब्याटिंगमा ओपनर जोन्सन चार्ल्सले सर्वाधिक ५९ रन बनाए भने टम मुरेसले १२ रन । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ३ जना ब्याट्सम्यानले खाता समेत नखोली आउट भए।
टिम अबुधाबीको बलिंगमा फास्ट बलर जेमी ओभरटन एक्लैले ४ विकेट लिए भने ओबेद म्याकोय र नभिन उल हकले समान २। २ विकेट र टम हेल्मले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको टिम अबुधाबीले १० ओभरमा ३ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो।
अबुधाबीको लागि ओपनर पल स्टरलिंगले सर्वाधिक अविजित ६४ रन बनाए भने लुक राइटले २७ र जेमी ओभरटनले १२ रन बनाए।
बांग्लाको बलिंगमा माथिषा पथिरानाले २ विकेट तथा जर्ज गार्टनले १ विकेट लिए।
खेलको ‘प्लेयर अफ द म्याच’ पल स्टरलिंग घोषित भए।
नेपाली खेलाडी कुशल मल्ललाई भने टिम अबुधाबीले हालसम्म अन्तिम ११ मा मौका दिएको छैन।
नेपाली खेलाडी सोमपाल कामी आवद्ध मराठा अरबियन्स र करण केसी आवद्ध टिम पुने डेभिल्स भने प्लेअफ चरण पुग्न असफल भएका छन् ।
टिम अबुधाबी अंकतालिकामा ६ खेलमा ३ जित र ३ हार पछि चौथो स्थानमा रहदै प्लेअफमा पुगको हो । खेलमा दिल्ली बुल्स, नर्दर्न वारियर्स र कलन्दर्स समान १० अंक हात पर्दै नेट रन रेटमा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।
लिग अन्तर्गत शुक्रबार देखि प्लेअफ चरणको खेल सुरु हुनेछ। आज ५ : ४५ बजे बेलुका पहिलो क्वालिफायरमा दिल्ली बुल्स र नर्दर्न वारियर्सले प्रतिस्पर्धा भएको छ mजुन खेल जित्ने टिम सोझै फाइनल पुग्नेछ। यस्तै आजै ८ बजे राती पहिलो इलिमीनेटरमा टिम अबुधाबी र कलन्दर्स प्रतिस्पर्धा गर्नेछन्।
आजै १० :४५ बजे राति दोश्रो इलिमीनेटर हुनेछ जसमा पहिलो क्वालिफायरमा पराजित हुने टिम र पहिलो इलिमीनेटरमा विजयी हुने टिम बीच प्रतिस्पर्धा हुनेछ।
लिगको फाइनल र तेश्रो स्थानको लागि खेल शनिवार खेलिनेछ।