Prakash Adhikari February 8, 2021

काठमाडौँ, २६ माघ । राष्ट्रिय महिला लिग फुटबलमा लिग लिडर एपीएफले सोमबार भएको खेलमा प्रतिद्धन्द्धी चौदण्डगढी नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ।

साविक विजेतासमेत रहेको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १४–० गोल अन्तरको विजय निकाल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जिताउन महिला फुटबलकी आइकन खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले आठ गोल गरिन् भने अनिता केसी र अनिता बस्नेतले समान दुई दुई गोल गरे । खेलमा एपीएफकै रमिला गोले र अनु लामाले समान एक–एक गोल गरेका थिए।

यससँगै एपीएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ। एपीएफले सात खेलमा २१ अंक जोडेको छ। अघिल्लो पटक यी दुईबीच भएको खेलमा एपीएफ २२–० गोल अन्तरले विजयी भएको थियो।

जसमा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन्। कुनै खेल नजितेको ​चौदण्डीगढी भने अंकविहीन छ।

 

Share Now

Leave a comment.