Prakash Adhikari February 9, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २७ माघ(बीबीसी) । महाभियोगसम्बन्धी आरोपबारे जबाफ दिँदै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले उनका समर्थकहरूले आफ्नै विवेकमा संसद्‌ भवनमाथि आक्रमण गरेको बताएका छन्।

वाशिङ्गटनस्थित क्यापिटल भवनमाथि गत ज्यानुअरी ६ तारिखको दिन आक्रमण भएको थियो।

मङ्गलवारबाट अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ शुरू हुँदैछ।

गत महिना तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

आरोप
हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएको’ ट्रम्पमाथि आरोप छ।

ट्रम्पले चाहिँ महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने बताउँदै आउनुभएको छ।

ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने त्यति बेला संसद्‌ भवनभित्र रहेका सांसदहरू लुक्न बाध्य भएका थिए।

अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुनुहुन्छ।

त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उहाँ हुनुहुन्छ।

‘नौटङ्की’

सुनुवाइपूर्व सोमवार सार्वजनिक विवरणअनुसार ट्रम्पका वकिलहरूले सङ्घीय अनुसन्धान निकाय एफबीआईका दस्तावेजहरूबाट ज्यानुअरी ६ तारिखको घटना हुनुभन्दा केही दिन पहिल्यै त्यसको योजना बनाइएको देखिएको उल्लेख गरेका छन्।

त्यसको अर्थ त्यो दिनको दङ्गाका लागि ट्रम्पले नउक्साएको उनीहरूले बताएका छन्।

ट्रम्पका समर्थक
ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गरेका छन्।

ट्रम्प अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ।

उनीहरूले महाभियोग प्रक्रियालाई डेमोक्र्याटहरूद्वारा गरिएको ‘राजनीतिक नौटङ्की’ र ‘एउटा निर्लज्ज राजनीतिक कार्य’ को सङ्ज्ञा दिएका छन्।

‘विपक्षी एवम्‌ अल्पमतमा रहेको पार्टीलाई चुप लगाउनु’ सुनुवाइको उद्देश्य रहेको उनीहरूको आरोप छ।

 

Share Now

Leave a comment.