अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २८ माघ(बीबीसी) । अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ।
सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए।
यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ।
सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेका थिए।
सामान्य बहुमत
सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो।
गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

उहाँमाथि क्यापिटल हिलमा रहेको अमेरिकी संसदभवनमा आक्रमण गर्ने हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई उक्साएको आरोप छ।
ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आउनुभएको छ।
उहाँका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद् भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो।
अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका पहिलो राष्ट्रपति ट्रम्प हुनुभएको छ।

त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि सूचीमा पनि उहाँको नामांकन भएको छ।
ुराजनीतिक अस्त्रु
ट्रम्पका वकिलहरूले संसद् भवनमाथि आक्रमणका लागि तात्कालिन राष्ट्रपतिले नउक्साएको दाबी गरेका छन्।
उनीहरूमध्ये एक डेविड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई राजनीतिक अस्त्र बनाइएको दाबी गर्नुभएको छ। बुधवारबाट सुनुवाइले फेरि निरन्तरता पाउनेछ।
ट्रम्पका वकिलहरूले नागरिक भैसकेका पूर्वराष्ट्रपतिविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गर्दै आएका छन्।

पूर्व राष्ट्रपति ट्रम्प अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ।
पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डोर्याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।
एक महिना लामो खोजबिनपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २ सय २१ जनाविरुद्ध अभियोग दायर गरिएको विवरणहरूमा जनाइएको छ।


















