काठमाडौं, २८ माघ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीभित्रको सामान्य खटपटलाई देखाएर संविधानले पाँच बर्षे आयु किटान गरेको प्रतिनिधिसभालाई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत मिलेमतोमा गरेको विघटनको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको बहुमत केन्द्रीय समितिका सदस्यको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज राजधानीमा आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ ।
दाहाल नेपाल पक्षीय नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिउसो हुने विरोध प्रदर्शनमा २ लाख सहभागी हुने दावी गर्नुभएको छ । उहाँका अनुसार विरोध सभा दिउँसो १२ बजेपछि सुरु हुने अनुमान छ।
पहिले जस्तै टुँडिखेल भृकुटीमण्डप चोकमा आयोजना गरिने विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी ढुक्कसंग बस्न मिल्ने गरी मञ्च व्यवस्थापन गरिएको संयोजक सूर्य सुवेदीले बताउनुभएको छ।
पहिले पनि सोही स्थानमा विरोध सभा आयोजना गरेको प्रचण्ड नेपाल समूहले भाषण सुन्न सजिलो होस् भनेर पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा डिजिटल स्क्रिन राखिएको र साथै रत्नपार्क, बागबजार र त्रिपुरेश्वरसम्म सुनिने गरी माइकको व्यवस्था गरिएको दावी गर्नुभएको छ।
प्रचण्ड नेपाल समूहले माघ ९ गते पनि काठमाडौंमै विरोध सभा गरेको थियो।सो विरोधसभा सोंचेभन्दा सानो भएको र मञ्च तथा वक्ता व्यवस्थापनका कमी कमजोरी सार्वजनिक भएपनि पार्टी अध्यक्ष प्रचण्डले नै अर्को ठूलो विरोध प्रदर्शन गर्नुपर्ने विचार राख्नुभएको थियो ।
प्रचण्ड नेपाल पक्षको ९ गतेको जुलुस तथा सभालाई बिर्साउने गरी आफ्नो शक्ति प्रदर्शन गर्न प्रधानमन्त्री के.पी.ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टीले माघ २३ गते शुक्रबार नारायणहिटीको प्रांगणको नजिक दरबारमार्गमा विरोध प्रदर्शन गरेको थियो ।
प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजको जुलुस प्रदर्शनमा मूल जुलुस सुन्धारा र केशरमहलबाट निकाल्ने भएको छ ।
सुन्धाराको जुलुसको नेतृत्व प्रचण्ड–नेपालले गर्नुहुने र केशरमहलको जुलुसको नेतृत्व संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, योगेश भट्टराईलगायत नेताले गर्ने जनाइएको छ।
आज काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने छ ।

सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुहुनेछ।
सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी वक्ता चयन गरिएको नेकपाले जनाएको छ।


















