Prakash Adhikari February 4, 2018

कोलम्बो(श्रीलंका),२१ माघ । माल्दिभ्समा देशका उच्च सैनिक तथा प्रहरी अधिकारीहरुले सरकारको रक्षा गर्न आवश्यक परे प्राण त्याग गर्ने भन्दै शपथ लिएका छन्।

देशको सर्वोच्च अदालतले राष्ट्रपति अब्दुल्लाह यामिनलाई पदबाट हटाउन प्रयास गरिरहेको दाबी त्यहाँका महान्यायाधिवक्ताले गरिरहेका बेला पछिल्लो शपथ समारोह आयोजना गरिएको हो।

उक्त समारोह टेलिभिजनमार्फत् प्रसारण गरिएको थियो ।

ती महान्यायाधिवक्ताले राष्ट्रपति अब्दुल्लाह यामिनलाई पदबाट हटाइन गरिने कुनै पनि प्रयासलाई रोक्न सुरक्षाफौजलाई आदेश दिएका छन्।

अवैधानिक
राष्ट्रपतिलाई नियन्त्रणमा लिने कुनै पनि कदम अवैधानिक हुने उनले बताएका छन्।

माल्दिभ्सको सर्वोच्च अदालतले नौ जना राजनीतिक आस्थाका बन्दीहरुलाई हिरासतमुक्त गर्न सरकारलाई आदेश दिएको थियो।

तर सो आदेश पालना गर्न अधिकारीहरुले अस्वीकार गरिरहेका छन् साथै त्यहाँको सरकारले संसद् स्थगित गरेको छ।

सरकारले सर्वोच्च अदालतले त्यस्तो आदेशको पालना नगरेपछि माल्दिभ्समा संकट उत्पन्न भएको छ।

सत्तापलट
मुख्य विपक्षी दलले सरकारले आदेश पालना अस्वीकार गर्नु सत्तापलट सरह भएको टिप्पणी गरेका छन्।

पूर्व राष्ट्रपति मोहम्मद नाशीदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन्।

सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि नाशीदले आह्वान गरेका छन्।

हाल श्रीलंकामा निर्वासनमा रहेका नाशीद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो नेता हुन्।

उनीमाथि लागेको आतंकवादको आरोप सर्वोच्च अदालतले खारेज गरिदिएको थियो र सो मुद्दासम्बन्धी सन् २०१५ मा भएको सुनुवाइ राजनीतिक रुपमा अभिप्रेरित भएको अदालतले बताएको छ।

तर राष्ट्रपति यामिनलाई सत्ताबाट हटाउने कार्य असंवैधानिक र गैरकानुनी हुने भन्दै माल्दिभ्स सरकारले सावधान गराएको छ ।

Share Now

Leave a comment.