काठमाडौैं,२९ माघ । सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ ।
बैंकमा १९ महिना काम गर्नुभएका जनक शर्मा पौडेलले राजीनामा दिएको भोलिपल्टै बैंकको सञ्चालक समितिले शर्मालाई नियुक्त गरेको हो ।
बुधबार विहान बसेको बैंकको सञ्चालक समितिले शर्मालाई नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गर्नुभएका शर्मा शैक्षिक योग्यतामा अब्बल मानिनुहुन्छ । सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गर्नुभएका श्री शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता हुनुहुन्छ ।
सन् १९९७ मा बैंकिड. करियर शुरु गर्नुभएका शर्मासंग सात वर्षसम्म एसबीआई बैंक,एनएमबी बैंकको एक दशकको साथै माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेको अनुभव छ ।
प्रमुख कार्यकारी अधिकृतको रुपमा सनराइज बैंकमा आबद्ध हुनु अघि शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसक्नुभएको थियो ।
बुधबारबाट जिम्मेवारी सम्हालिसक्नुभएका शर्मासंग बैंकले ठूलो आशा राखेको छ । सञ्चालकहरुको आपसी खिचातानीले पछिल्ला बर्षहरुमा ब्यापारमा कुनै तरक्की गर्न नसकेको सनराइजको साख पनि विस्तारै उकास्नु पर्ने र ब्यापार बढाएर ग्राहकहरुलाई भरपर्दो,सहज र अत्याधुनिक सेवा दिंदै शेयरधनीलाई आकर्षक लाभांश दिने चुनौती नवनियुक्त कार्यकारी शर्मामा थपिएको छ ।


















