काठमाडौं, २९ माघ। सरकारको पूूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ ।
साधारण सभाले ४.५० प्रतिशत लाभांश सहितको आर्थिक बर्ष २०७६ ।०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
बार्षिक साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले कोरोना भाइरसको संक्रमणको महामारीले थलिएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताउनुभयो ।
साधारण सभा कोरोना भाइरसको संक्रमण जोखिमका कारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै भर्चुअल माध्यमबाट गरिएको थियो ।
साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि सहभागीता रहेको थियो ।
सो साधारण सभामा बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, प्रा.डा. राजनबहादुर पौडेल, प्रा.डा. माधबप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनालाको उपस्थिति रहेको थियो ।
साधारण सभामा महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्ष÷पदाधिकारीहरु, आरबिबि मर्चेन्ट बैंकिङ्ग लि।का प्रमुख कार्यकारी अधिकृत लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
भर्चुअल साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गर्नुभएको थियो ।
राष्ट्रिय बाणिज्य बैंकले हाल ७७ जिल्लामा २ सय ४५ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सञ्जालमार्फत सेवा दिइरहेको छ ।


















