Prakash Adhikari February 11, 2021

काठमाडौँ, २९ माघ  । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी रु १० अर्बको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

अर्थ मन्त्रालयमा आज सम्पन्न बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारकोतर्फबाट पूर्वसहमतिबमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम शुरु गर्न गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तलाई आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भई काम शुरु हुने बताउनुभयो । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली सङ्घको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीको शेयर हुनेछ । गैरआवासीय नेपालीले लगानीका लागि साधारण शेयर जारी गरिनेछ ।

अध्यक्ष पन्तले लगानीका क्षेत्रबारे पनि प्रस्ताव आइसकेको जानकारी दिनुभयो । उहाँले विदेशमा रहेका नेपाली नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउनुभयो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायत सहभागी हुनुहुन्थ्यो

Share Now

Leave a comment.