नयाँदिल्ली(भारत), २९ माघ (बीबीसी) । भारत र चीनका सैन्य अधिकारीहरु लद्दाख क्षेत्रको विवादित हिमाली सीमा पान्गोङ तालको वारिपारीबाट आफ्ना सुरक्षाकमीहरुलाई पछाडि फर्काउन सहमत भएका छन् ।
विवादित क्षेत्रको केही भागबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमतिलाई गत जुनमा भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्ध सुधारमा भएको प्रगतिका रूपमा लिइएको छ।
भारतको रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम ती दुई परमाणुअस्त्रसम्पन्न देशहरूबीच भएको ‘निरन्तरको वार्ता’को परिणाम भएको बताउनुभएको छ।
चीनले पनि त्यस्तै बेहोराको घोषणा गरेको एक दिनपछि सिंंहको त्यस्तो टिप्पणी आएको हो।
गत जुन महिनामा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।
चिनियाँ सेनातर्फ पनि केही हताहत भएको भन्ने विवरणहरू आएका थिए। त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो।

भारत चीन सीमा
कुराकानी
भारतका रक्षामन्त्री राजनाथ सिंहले देशको संसदमा बोल्दै गत सेप्टेम्बर महिनायता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेको बताउनुभएको थियो।
वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि ‘पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमतिमा पुग्न सफल भएको’ उहाँले बताउनुभयो।
चीनको राष्ट्रिय प्रतिरक्षामामिला मन्त्रालयका प्रवक्ताले बुधवार पान्गोङ त्सो तालबाट ‘संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने’ कार्य आरम्भ भएको बताउनुभएको थियो।
कर्णेल वु चिआनका अनुसार सैनिक कमान्डर तहमा भएको वार्तामा दुवै पक्षले सहमति गरे अनुसार त्यस्तो सैन्य फिर्तीको कदम चालिएको हो।
भारत र चीनका सैनिकहरू दुवै देशले आफ्नो भनेर दाबी गरिरहेको उक्त हिमतालको उत्तरी र दक्षिणी किनारमा आमनेसामनेको अवस्थामा रहेका थिए।


















