पोखरा(कास्की),२२ माघ । नेकपा एमालको प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेता माघ २८ गते चयन गर्ने निर्णय गरेको छ ।
आइतबार पोखरामा बसेको बैठकले संसदीय दलको नेता छान्न ३ सदस्यीय कमिटी पनि गठन गरेको छ । ‘२८ गते बैठक बसेर संसदीय दलको नेताको छान्ने प्रक्रिया सुरु गर्ने निर्णय भएको छ,’ सांसद किरण गुरुङले भने ।
एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीको अध्यक्षतामा गठित समितिमा अधिवक्ता सुरेन्द्र थापा मगर र कमल अर्याल सदस्य रहेका छन्।
भरसक सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने तर सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने एमालेको योजना छ । एमाले संसदीय दलको नेता जो बन्छ, उही प्रदेश ४ को मुख्यमन्त्री बन्नेछन् ।
प्रदेशको ठूलो दल एमालेलाई मुख्यमन्त्री र गठबन्धनको माओवादीलाई सभामुख दिने गरी दुई पाटीबचि भागवण्डा भएको छ ।
मुख्यमन्त्रीमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङको दावी छ । संसदीय दलको नेताका लागि उनीहरुबीच नै प्रतिस्पर्धा छ ।
प्रदेश नम्बर ४ को संसदमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसद छन् ।
प्रदेशसभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे रहेका छन् ।