काठमाडौं, २२ माघ । प्रदेश १ र ४ को पहिलो सभा बैठक सोमबार (आज) बस्दैछ। दुवै प्रदेशसभा बैठकका लागि तयारी सम्पन्न गरिएको जानकारी गराइएको छ।
प्रदेश ४ को पहिलो बैठक अस्थायी मुकाम पर्यटकीय नगरी पोखरामा बिहान ११ बजे बस्नेछ। बैठक ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बस्नेछ। ४ नम्बर प्रदेशमा ११ जिल्लाका गरी ६० जना सांसद् छन्।
मनाड.बाट स्वतन्त्रमा निर्वाचित सांसद राजिव गुरुड.(दीपक मनाड.) अदालतबाट दोषी ठहर भै पक्राउ आदेश समेत भएकोले उनी बाहेकका सांसदहरु बैठकका लागि सबै प्रदेश सांसद पोखरा पुगिसकेका छन्।
प्रदेश सभाको काम सुचारु ढंगले सञ्चालन गर्नका लागि आइतबार नमूना संसद अधिवेशन सञ्चालन गरी सभामुख,सांसद,मर्यादापालक सबैलाई आआफ्नो भूमिका प्रभावकारी बनाउन प्रशिक्षण अभ्यास पनि गराइएको थियो ।
पोखरामा प्रदेशसभा बैठकस्थल चिटिक्क पारिएको छ।
प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक दिउँसो १ बजे अस्थायी राजधानी विराटनगरमा रहेको मोरङ जिल्ला समन्वय समितिको कार्यालयमा बस्दैछ।
बैठकमा प्रदेशसभाका जेष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुखको भूमिका निभाउनेछन्। सरावगीले प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान गरेको पत्र वाचन गर्नेछन्।
त्यसपछि बैठकमा दलका प्रतिनिधिलाई बोल्न समय दिइने तथा संसद् सञ्चालन अन्तरिम कार्यविधि पास गर्ने कार्यसूची रहेको छ।
बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने कार्यसूची पारित गर्ने तयारी छ।