काठमाडौं, ३ फागुन । अहिले नेपालमा लगाउन थालिएको भारतीय अनुदानको कोरोनाविरुद्धको खोप कोभिसिल्डबारे नयाँ रिपोर्ट सार्वजनिक भएको छ।
कोभिसिल्डबारे द लान्सेट पत्रिकामा नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गएिको छ।
रिपोर्टअनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधी निर्मार्ता कम्पनी एस्ट्राजेनेकाद्वारा विकसित गरी भारतमा उत्पादन तथा बजारीकरण गर्न दिइएको कोभिसिल्डको दोस्रो मात्रा ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४।९ प्रतिशत प्रभावकारी देखिएको छ भने १२ हप्ता वा बढीको अन्तरालमा लगाउँदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको छ ।
त्यस्तै पहिलो डोज खोप लगाएका व्यक्तिमा ३ महिनासम्म कोरोना संक्रमण सर्ने सम्भावना ६७ प्रतिशत कम हुन्छ भने ३ महिनामा दोस्रो मात्रा लगाउँदा संक्रमण नसर्ने सम्भावना ८२.४ प्रतिशत हुन्छ।
पहिलो खोप लगाएको २२ दिनपछि संक्रमण भएमा संक्रमित व्यक्ति गम्भीर हुने तथा अस्पताल भर्ना हुनुपर्ने सम्भावना कम हुन्छ। त्यस्तै ३ हप्तापहिले दोस्रो मात्रा लगाएमा त्यसको ४ हप्तापछि तेस्रो मात्रा लगाउनुपर्ने अर्को अध्ययनले देखाएको छ।
अध्ययनको निचोड छ– कोभिसिल्ड खोपको दोस्रो मात्रा ४ हप्तादेखि १२ हप्तासम्म लगाउनु उपयुक्त हुन्छ।
कतिपय अध्येताले भने खोपको अभाव भएको हुँदा दोस्रो मात्रा लगाउने समयान्तर बढाउँदै ३ महिना बनाउन खोजेको आशंका गरेका छन्।
भारतमा कोभिसिल्ड खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ। जसको १० लाख डोज भारत सरकारले नेपाल सरकारलाई निःशुल्क उपलब्ध गराएको छ।
अहिले नेपालमा त्यही कोभिशिल्ड लगाउन थालिएको छ ।