Prakash Adhikari February 15, 2021

याड.गुन(म्यानमार), ३ फागुन (बीबीसी) । म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ।

सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन्।

स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ। संयुक्त राष्ट्र सङ्घका एकजना अधिकारीले सेनाले जनताविरुद्ध ‘युद्धको घोषणा गरेको’ आरोप लगाएका छन्।

म्यान्मारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले ‘हतोत्साहको सङ्केत’ देखाइरहेको र उनीहरूलाई जबाफदेही बनाइने बताउनुभएको छ।

युरोपेली संघ (इयू), अमेरिका र यूकेले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, ‘हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ।’

म्यान्मार

म्यान्मार

म्यान्मारमा भएको सैन्य कू ले नेत्री आङ सान सू चीले नेतृत्व गरेको सरकार अपदस्थ गरिदिएको थियो।

नेत्री सू चीको न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो।

तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ।

सू ची हाल आफ्नै निवासमा नजरबन्दमा छिन्। सयौँ अधिकारवादी र नेताहरूलाई पक्राउ गरिएको छ।

दमनका अन्य सङ्केत के छन् ?

प्रदर्शन म्यान्मार

प्रदर्शन म्यान्मार : पानीको फोहराबाट जोगिन मङ्गलवारको प्रदर्शनमा मानिसहरूले प्लास्टिक ओढेका थिए

म्यान्मारमा सेनाविरुद्ध देशव्यापी रूपमा लगातार नवौँ दिन हजारौँ प्रदर्शनकारीहरूले विरोध कार्यक्रम गरेका छन्।

कचीन राज्यमा भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीहरूबीच भएको झडपका क्रममा स्वचालित हतियार चलाइएको सुन्न सकिन्थ्यो।

त्यसक्रममा रबरको गोली चलाइएको हो वा गोली नै चलाइएको हो भन्ने कुरा भने प्रस्ट हुन सकेको छैन।

https://youtu.be/BLFppQONnKs

पाँचजना पत्रकारहरूलाई पक्राउ गरिएको छ।

सैन्य कू पछि पहिलो पटक याङ्गुनमा हतियार चलाउन सकिने गाडीहरू सडकमा देखिएका थिए।

दूरसञ्चार सेवा प्रदायकहरूका अनुसार उनीहरूलाई स्थानीय समय अनुसार आइतबार १ बजेदेखि सोमवार ९ बजेसम्म इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको छ।

नापि ता ओस्थित एक चिकित्सकका अनुसार सुरक्षा अधिकारीहरूले रातको समयमा घरहरूमा छापा मारिरहेका छन्।

 

Share Now

Leave a comment.