Prakash Adhikari February 15, 2021

काठमाडौँ, ३ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा सेयर कर्जामा कडाइ गर्ने हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो ।तर विगतको नीतिलाई निरन्तरता दिएपछि लगानीकर्ताको विश्वास बढेकोले सेयर बजारमा सोमबारदेखि पुनः चमक थपियो ।

आइतबार ३३.३३ अङ्कले ओरालो लागेको नेप्से आज ९२.४२ अङ्कले बढेर र २५८६.०१ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले २६०० को बिन्दु पहिल्याएको छ ।

कारोबारका आधारमा आज जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आकृर्षित भएका छन् ।  कारोवारका आधारमा छिमेक लघुवित्त, गरिमा विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी लघुवित्त, आरएसडिसी, फरवार्ड लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाएका छन् ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.०३, सानिमा बैंकको ऋणपत्र १.९०, एनआइसि एशिया ऋणपत्र १.५९, एभरेष्ट बैंक १.४८, एनआइसि एशिया बैंकको ऋणपत्र २०८४ को ०.७६ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.३५ प्रतिशतले गुमाए ।

कारोवारका आधारमा आज निर्धन उत्थान लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७० करोड ४८ लाख ४९ हजार ९४१ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु ६८ करोड पाँच लाख १६ हजार ४७१, छिमेक लघुवित्त रु ४७ करोड ९१ लाख ४० हजार ४६४, डिप्रोक्स लघुवित्त रु ४७ करोड ४४ लाख ४१ हजार ७५४, ग्लोबल आइएमई बैंक रु ४६ करोड ९० लाख २४ हजार ४८३, एनआइसि एशिया बैंक रु ४० करोड ६९ लाख तीन हजार ३९२, नेको इन्स्योरेन्स रु ३४ करोड ७४ लाख ४० हजार ८५, नेपाल बैंक लिमिटेड रु २८ करोड ९९ लाख आठ हजार ३४२ र नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ८९ लाख तीन हजार १९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

आजको कारोवारपछि बजार पूँजीकरण साढे ३५ खर्बमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.३३ बिन्दुले बढेर ४६९.४४ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिपछि कारोवार रकम उच्च बिन्दुमा पुगेको छ । कूल २०५ कम्पनीको दुई करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर रु १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो लागेको छ ।

बैंकिङ ५७.३२, व्यापार ७१.६, होटल २४.१, विकास बैंक ४९.९१, जलविद्युत् ६४.४५, वित्त ३४.७५, निर्जीवन बीमा ४४७.४४, उत्पादन १५९.६६, अन्य ६२.६१, लघुवित्त ३७०.३, जीवन बीमा ६९७.९१, सामूहिक लगानी कोष ०.१८ मा पुगेको छ ।

Share Now

Leave a comment.