Prakash Adhikari February 15, 2021

 

काठमाडौं, ३ फागुन (बीबीसी) । मलेशियामा काम गरिरहेका श्रमिकहरूले पाउने सामाजिक सुरक्षा बापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउन पाउने बारेको समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले बताएका छन्।

केही दिनमै समझदारीपत्र मलेशिया पठाइने र मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोले त्यसमा मन्जुरी दिएलगत्तै कार्यान्वयनमा आउने उनीहरूको भनाइ छ।

हालसम्म वैधानिक रूपमा मलेशियामा रहेका झन्डै ३ लाख नेपाली कामदार सोक्सोमा आबद्ध रहेको मलेशियास्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।

परिवारसम्म पुर्‍याउन समझदारी

मलेशिया सरकारले आप्रवासी कामदारलाई पनि सामाजिक सुरक्षा दिनेगरी कानुन बनाएको एक वर्षभन्दा बढी भइसकेको छ।

तर उक्त सामाजिक सुरक्षाअन्तर्गत दर्ता भएका नेपाली कामदारले पाउने सुविधा र क्षतिपूर्ति नेपालमा उनीहरूको परिवारसम्म पुर्‍याउने माध्यमको टुङ्गो लाग्न सकेको थिएन।

हालै मन्त्रिपरिषद्ले मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोसँग समझदारी गर्ने अधिकार वैदेशिक रोजगार बोर्डलाई दिएको छ।

मलेशिया

मलेशिया

अब बोर्डले त्यस्तो सुविधा र क्षतिपूर्ति आफ्नो संस्थामार्फत् पीडित परिवारसम्म पुर्‍याउने गरी समझदारी गर्नुपर्नेछ।

त्यसका लागि लामो समय कुर्नुपर्ने अवस्था नरहेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताउनुभयो।

सुवेदीले भन्नुभयो ूहामीले यहाँबाट समझदारीपत्रको प्रस्ताव पठाउँछौँ। त्यसपछि उहाँहरूले त्यसको अध्ययन गर्नुहुन्छ अनि हामी हस्ताक्षर गर्छौँ।ू

‘यसको सुरुवात भइसकेको छ। पत्राचार गर्ने समयबाहेक ढिलो हुँदैन। फेब्रुअरी महिनाभन्दा बढी लाग्दैन।’

मलेशियाबाट ल्याइएको शव

मलेशियामा अलपत्र परेका शवहरू केही साताअघि नेपाल ल्याइएको थियो

क्षतिपूर्ति तथा उपचार खर्च

नेपालबाट वैधानिक रूपले गएका कामदारहरूले नेपालका तर्फबाट पाउने सुविधा र क्षतिपूर्ति पनि वैदेशिक रोजगार बोर्डमार्फत् नै पाउने गरेका छन्।

मलेशियास्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालबाट पठाइने समझदारीपत्रको पर्खाइमा रहेको जनाएका छन्।

धेरैजसो नेपाली कामदार मलेसियाको सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको दूतावासका श्रम मामिला हेर्ने काउन्सिलर दीपक ढकालको भनाइ छ।

ढकालले भन्नुभयो, ‘यहाँ काम गरिरहेका लगभग दुई लाख ९८ हजार हाम्रा नेपाली श्रमिकहरू यहाँको सामाजिक सुरक्षासम्बन्धी निकाय सोक्सोमा आबद्ध भएको जानकारी हामीलाई गराइएको छ। सोक्सोबाट पाउने जेजति लाभ हो त्यो पाउन उनीहरू योग्य भएरै बसेका छन्। अवैधानिक रूपमा रहेका कामदारको हकमा मात्रै समस्या हो।’

सोक्सोमा दर्ता भएका कामदारहरूको कुनै कारणवश अङ्गभङ्ग भएमा वा बिरामी भएमा उनीहरूलाई क्षतिपूर्ति तथा औषधि उपचार खर्च दिने व्यवस्था रहेको छ।

मृत्यु भएमा श्रमिकका आश्रितलाई क्षतिपूर्तिस्वरूप मृत्यु हुँदाको बखत श्रमिकले पाइरहेको तलबको ९० प्रतिशत रकम मासिक पेन्सनको रूपमा दिइने अनि शव व्यवस्थापन र अन्तिम संस्कारको खर्चको हकमा मलेशियामै दाहसंस्कार गरिएमा वा शव नेपाल ल्याएमा फरकफरक रकमको व्यवस्था रहेको अधिकारीहरूको भनाइ छ।

 

Share Now

Leave a comment.