काठमाडौँ, ११ फागुन । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई आज बदर गर्ने फैसला गरेसँगै नेपाली कांग्रेसका नेताहरुले पनि आ–आफ्ना प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको उल्लेख गर्नुभएको छ ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको र फैसलाले सत्यको जित भएको भन्दै यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उल्लेख गर्नुभयो । उहाँले सर्वोच्चलाई धन्यवाद दिँदै आफूले भन्दै आएको र सत्यभन्दा माथि शासक हुन नसक्नेसमेत स्पष्ट पार्नुुभयो ।
मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।सर्वोच्चलाई धन्यवाद !
— Ram Chandra Paudel (@RcPaudelNepal) February 23, 2021
कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले विज्ञप्तिमार्फत सर्वाेच्चको स्वागतयोग्य भएको र यसले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वाेच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको उल्लेख गर्नुभएको छ । आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रबिन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसको संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले सर्वोच्च अदालतको यस फैसलाले अव कुनै पनि निरंकुश व्यक्तिले संविधानसभाबाट निर्मित संविधानको अपब्याख्या गरेर जनताको लोकतान्त्रिक अधिकार अपरहण गर्न नसक्ने स्पष्ट पारेको बताउनुभएको छ ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको र फेरि एकपटक विधिको शासनको जित भएको उल्लेख गर्नुभएको छ ।
सर्बोच्च अदालतको आजको ऐेतिहासिक निर्णय , संविधान को मर्म र भावना अनुसार निर्णय भएको छ। फेरि एकपटक बिधिको शासनको जीत भएको छ। नेपाली जनताको त्याग र बलिदान बाट आएको पद्धतिको रक्षा भएको छ। सबै लाई बधाई छ । जय नेपाल ।
— Prakash Man Singh (@PMSinghNC) February 23, 2021
कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताउनुभएको छ ।
आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ । साथै देश राजनीतिक स्थिरता तर्फ लागेको छ । अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायलय प्रति गर्व भएको छ।
— Dr Shekhar Koirala (@Shekharnc) February 23, 2021
प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा संविधान रक्षा गर्दै जनताको जित भएको बताउनुभएको छ ।
न्याय मुर्तिहरुलाई लाख लाख सलाम !
संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो l फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ l संविधान रक्षा गर्दै जनताको जीत भएको छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 23, 2021
युवा नेता गगनकुमार थापाले पनि सामाजिक सञ्जालमार्फत अदालतले बिना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताउनुभयो । ·
हामी सवैलाई बधाई!संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।
कांग्रेसका नेता नवीन्द्रराज जोशीले सर्वोच्च अदालतको निर्णयले संविधान र लोकतन्त्रको रक्षा गर्नुको साथै अधिनायकवादलाई परास्त गरेको बताउनुभएको छ ।
प्र.न्या.चोलेन्द्र शम्शेर लगायत न्यायाधीशहरुले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउनुका साथै लोकतन्त्र बिधिले चल्छ, बाहुबलले चल्दैन भन्ने पाठ बाहुबलीहरुलाई सिकाएको छ। शहीदको रगतको सम्मान र लोकतन्त्रको जीत भएको छ। प्र.न्या.लगायत न्यायधीहरु प्रति अभार व्यक्त गर्दछु।
— Dhan Raj Gurung (@dhanrgrg) February 23, 2021
सर्वोच्चको निर्णय स्वागतयोग्य छ ।कानुनको सही व्याख्या जनताको जीवन आधार हो।तथापि नेपालका नेताहरु निर्णय मान्ने नमान्नेमा विभाजित भए ,जुन दु:खद पक्ष्य हो।नेपालको राजनीतिमा राजनीति बुझ्न सक्ने नेतै देखिएनन् । नेतृत्व सङ्कटको यो पीडा निरपराध जनताले भोग्दै छन्।भोलिका दिन विकृत नबनुन !
— Chandra Bhandari (@chandra_1961) February 23, 2021
प्रधानमन्त्री ओलीद्वारा गरिएको प्रतिनिधिसभा बिघटनलाई बदरगरी सर्वोच्चअदालतले संविधान र विद्यमान राजनीतिक प्रणालीको प्राण बचाएको छ।न्यायालयको आँगनमा लोकतन्त्रले न्याय पाएको छ।र निर्वाचनबाटै उदाउन खोजेको तानाशाहीको खतरालाई अन्त्य गरेको छ।यो सम्पूर्ण नेपाली जनता र लोकतन्त्रको जित हो।
— Gururaj Ghimire (@ghimire_gururaj) February 23, 2021


















