Prakash Adhikari February 24, 2021

 

काठमाडौं, १२ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी मंगलबार गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गर्नुभएको छ।

फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उहाँको भनाइ छ।

उहाँले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै सर्वोच्चको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताउनुभयो।

‘नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ’ सभामुख सापकोटाले भन्नुभएको छ ।

उहाँले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लागेका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उहाँहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्नुभएको छ।

सभामुख सापकोटाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्ग प्रशस्त गरेकोसमेत बताउनुभयो।

सभामुख सापकोटाले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अब सरोकार भएका सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा संघीय संसद् अगाडि बढ्ने जानकारी दिनुभयो।

 

Share Now

Leave a comment.