काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले असंवैधानिक रुपमा विघटन गरिएको संसद पुनस्थापना गरेपछिको परिवर्तित राजनीतिक परिदृश्यमा पार्टीले लिने मार्गदिशाको बारेमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ।
पार्टी सभापति देउवाको निवासमा बिहीबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको देउवाका सहयोगी भानु देउवाले बताउनुभएको छ ।
नेपाली कांग्रेसले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको घट्नाको स्वागत गरिसकेको छ ।
बुधबार नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर मिलेर जानुपर्ने बताउनुभएको थियो।
कांग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफूले निर्णय दिन सक्ने जवाफ दिनुभएको थियो।
आफ्ना पार्टीमा आन्तरिक छलफलपछि फेरि छलफलमा जुट्ने गरी बुधबार बैठक सकिएको थियो।
प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा भएपछि कांग्रेसभित्र पुनस्थापनाको लागि संघर्ष गर्ने कि निर्वाचनमा जाने भन्नेमा दुईथरि मत देखिएका थिए ।
पार्टी सभापति निकट नेताहरुले निर्वाचनलाई प्राथमिकता दिनुभएको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सभापतिसंग फरक मत राख्ने नेताहरुले राजनीतिक व्यवस्था र संविधान धरापमा पर्न लागेकोले पुनस्थापनामा जोड दिनु भएको थियो ।
सभापति देउवाले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले स्टे अर्डर नदिएको हुनाले चुनावको पक्षमा माहोल बनाउन बोल्नुपरेको बताउनुभएको थियो ।


















