काठमाडौं,१३ फागुन। बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालि बीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह सम्झौता भएको छ।
संझौता अनुसार आयोजना निर्माणको लागि बैंक अफ काठमाण्डूको अगुवाइमा ग्लोबल आइएमइ बैंक, सिभिल बैंक, मेगा बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ऋण लगानी गर्नेछन्।
उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तीयकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहने बैंकले जनाएको छ ।
२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रुपैयाँ छ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिने उक्त जलविद्युत आयोजनाको निर्माण सुपर खुदी जलविद्युत प्रालिले अघि बढाइरहेको छ।
आयोजना पूरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिने छ। सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन पनि कम्पनी आफैंले निर्माण गर्नेछ ।
सहवित्तीयकरण कर्जा पश्चात् जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।
बैंक अफ काठमाण्डूले हाल ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट बैंकिङ सेवा दिँदै आएको जनाएको छ।
बैंक अफ काठमाण्डूले हालसम्म ऊर्जा क्षेत्रका ३४ वटा परियोजनामा लगानी गरेको छ ।


















