Prakash Adhikari February 25, 2021

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री के.पी. शर्मा ओलीमाथि ठूलो नैतिक प्रश्न खडा गरिदिनुभएको छ ।

बिहिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको वर्तमान तथा पूर्व पदाधिकारीहरुको बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसंग बोल्दै वरिष्ठ नेता पौडेलले सो प्रश्न उठाउनुभएको हो । उहाँले संसदको आगामी कामकारबाहीको बारेमा सोधिएको प्रश्नमा भन्नुभयो, आफैले हत्या गरेको प्रतिनिधिसभामा प्रधानमन्त्री ओली कसरी जानसक्नु होला ?

कांग्रेसका वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्थापना संगै पुनस्थापित प्रतिनिधिसभाको बैठक १३ दिनभित्र बस्ने गरी संसद अधिवेशन आह्वान गर्न प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई आदेश दिएकोले अब संसदीय प्रक्रिया सुरु हुने र नेपाली कांग्रेसको भूमिका त्यतिबेलै परिभाषित हुने पनि बताउनुभयो ।

नेकपाको प्रचण्ड–माधव समूहले कांग्रेससँगको सहकार्य खोजेका छन् नि भन्ने प्रश्नमा उहाँले प्रक्रिया अगाडि नबढेसम्म कांग्रेसले केही गर्दैन। छोरो नजन्मिकन कन्दनी बाट्ने त कुरा भएन नि। भन्ने प्रतिक्रिया दिनुभएको थियो ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले देशलाई र संसदीय प्रणालीलाई ठूलो संकटबाट बचाएको पनि बताउनुभएको छ ।

Share Now

Leave a comment.