Prakash Adhikari February 26, 2021

 

ब्रसेल्स(बेल्जियम), १४ फागुन । ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू)का अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरसुभ्याक्सिनेसन पासपोर्ट अर्थात् खोप राहदानी स्विकार्न आह्वान गरेका छन्।

त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ।

ती देशहरूले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव राखेका हुन्।

उनीहरूका प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि विना रोकतोक घुम्न पाउनेछन्।

ईयू नेताहरूबीच भएको एउटा भर्चुअल छलफलमा उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो।

तर ‘भ्याक्सिन पासपोर्ट’लाई उक्त सङ्गठनका केही देशहरूको विरोधको सामना गर्नुपर्‍यो।

अविश्वास
फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन्।

उनीहरूका तर्कमा खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरूलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे आएका विवरणहरू पूर्ण छैनन्।

त्यस्तै कतिपयले त्यस्तो राहदानीले सीमित व्यक्तिलाई मात्र विदेश यात्रा गर्न दिने भएकाले भेदभावपूर्ण हुने बताएका छन्।

अहिले निश्चित उमेर समूहका व्यक्तिहरूले मात्र खोप लगाउन पाएका छन् र युवाहरू खोप लगाउन पाउने प्राथमिकतामा परेका छैनन्।

त्यसले गर्दा यस्तो व्यवस्था भेदभावपूर्ण हुने उनीहरूको तर्क छ।

त्यसका साथसाथै ब्रिटिश, दक्षिण अफ्रिकन र ब्राजिलियनजस्ता नयाँ खाले कोरोनाभाइरसका प्रकारहरू देखा परेकाले पनि यस्तो राहदानीबारे कतिपयले विमति राखेका छन्।

ग्रीस र इजरेलले अहिले नै डिजिटल खोप प्रमाणपत्र दिइरहेका छन्।

डेनमार्क र स्वीडेनले पनि त्यस्तै प्रमाणपत्र विकास गर्नेबारे कुरा गरिसकेका छन्।

ग्रीसको मान्यता
ग्रीसका उपप्रधानमन्त्री आकिस स्कर्टसोसले साधारण डिजिटल प्रमाणपत्र विभेदकारी नहुने बताउनुभएको छ।

उहाँले खोप नलगाएका पर्यटक पनि आगामी गृष्मकालमा ग्रीस आउनसक्ने दाबी गर्नुभयो।

तर त्यसका लागि ग्रीस पुगेर परीक्षण गर्नुपर्ने र आइसोलेशनमा बस्नुपर्ने पनि हुनसक्छ।

ग्रीस र साइप्रस कोभिड-नेगेटिभ इजरेली पर्यटकलाई आगामी गृष्मकालमा स्वागत गर्न सहमत भएका छन्।

त्यसका लागि इजरेली पर्यटकले ूग्रीन डिजिटल सर्टिफिकेटू पेस गर्नु पर्नेछ।

ग्रीक पर्यटनमन्त्री ह्यारी थियोचारेसले यूकेसँग पनि त्यस्तै सहमति हुनसक्ने बताउनुभएको छ।

यद्यपि यूके सरकारले हालसम्म कुनै पनि खोप लगाइएको प्रमाणपत्रलाई स्वीकृत गरिसकेको छैन न त कसैलाई विदेश जानका लागि त्यस्तो प्रमाणपत्र दिएको नै छ।

अस्ट्रियन चान्सलर सेबास्टियन क्रुजले ट्वीटमा लेख्नुभएको छ, ‘हामी इजरेलको जस्तै डिजिटल ग्रीन पासपोर्टको वकालत गरिरहेका छौँ।’

‘त्यसले तपाईँलाई आफ्नै मोबाइल फोनमा तपाईँको परीक्षण भएको छ वा तपाईँ निको हुनु भएको छ भन्ने देखाउन अनुमति दिन्छ। हाम्रो लक्ष्य भनेको लामो लकडाउनको अन्त्य र फेरि ईयूमा यात्राको स्वतन्त्रता ल्याउनु हो।’

जर्मन चान्सलर एंगेला मर्केलका अनुसार ईयूमा सीमा र राष्ट्रिय स्वास्थ्य प्रणालीमा प्रयोग गर्ने डेटा स्थापित गर्न तीन महिना लाग्नेछ।

मर्केलले भविष्यमा ूएकखाले ग्रीन भ्याक्सिनेसन सर्टिफिकेटू आवश्यक हुनसक्ने कुरामा अधिकांश देशहरू सहमत भएको बताउनुभयो।

 

Share Now

Leave a comment.