काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवासंग भारत र चीनका राजदूतहरुले अलग अलग्गै भेटवार्ता गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले देउवालाई बिहिबार उहाँकै निवास बूढानीलकण्ठमा पुगेर अलग अलग भेटवार्ता गर्नुभएको हो ।
प्रतिनिधिसभाको असंवैधानिक विघटनले गहिरिएको राजनीतिक संकटका बीचमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सत्तारुढ कम्युनिष्ट पार्टीमा देखिएको घ्रुबीकरणले नेपाली कांग्रेसको भूमिका आउदा दिनमा महत्वपूर्ण हुने देखिएपछि नेपालका विकास एवम् राजनीतिक साझेदार मुलुकहरुले नेपाली कांग्रेसतिर बढी विश्वास गर्न थालेका छन् ।
आउदा दिनमा नेपालको लोकतन्त्र र संविधानको विकासमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने भएकोले राजदूतहरुले कांग्रेससंगको सम्पर्क बढाएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि अहिले कांग्रेसका सभापति देउवासँग भेटघाट बढ्दो छ।
बुधबार मात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उनलाई भेट्न बूढानीलकण्ठ पुग्नुभएको छ।
तर बिहिबारै बसेको नेपाली कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीहरुको बैठकले भने सरकार गठनका बारेमा नेपाली कांग्रेस अहिल्यै बोल्ने हतार गर्न नहुने निष्कर्ष निकालेको छ ।
्र


















