धरान(सुनसरी), २३ माघ । २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार धरानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबले सुदूर पश्चिम एघारलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निराजन खड्काले थ्री स्टारलाई खेल को ७ औ मिनेटमा अग्रता दिलाए । सुनिल बलले ३७ औ मिनेटमा अग्रतालाई दोब्बर गरे । निराजन खड्काले ५४ औ मिनेटमा उत्कृष्ट गोल गरे र पेनाल्टी मार्फत ९०ं.२ मा ह्याट्रिक गर्दै थ्री स्टारलाई ४(० को शान्दार जीत दिलाए ।
थ्री स्टार क्लबले दुर्गापुर, कोलकातासँग दोस्रो सेमिफाइनल माघ २५ गते खेल्नेछ ।
ह्याट्रिक हिरो निराजन खड्का म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र संकटाबीच हुनेछ ।
धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।