काठमाडौं, १९फागुन । नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो एअरलाइन्स बुध्द एयरले सीतामाताको जन्मभूमि जनकपुरधामलाई भगवान रामको जन्मभूमि भारतको अयोध्याधामसंग हवाई उडानले जोड्ने तयारी गरेको छ ।
बुद्ध एअरका प्रबन्ध सञ्चालक बीरेन्द्रबहादुर बस्नेतले सीताको जन्मभूमि जनकपुरदेखि रामको जन्मभूमि अयोध्याबीच उडान गर्नका लागि तयारी शुरु गरिएको जानकारी दिनुभएको छ ।
अयोध्यालाई विश्वभरका हिन्दुहरुको पर्यटकीय केन्द्र बनाउन भारत सरकारले अध्योध्या विमानस्थललाई भगवान रामको नाममा नामाकरण गर्ने र विमानस्थलको स्तारेन्नति गर्नका लागि १०१ करोड भारु बजेट छुट्याएर काम गरिरहेको छ ।
बुद्ध एअरले उक्त विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गरिसकेपछि उडान प्रारम्भ गर्ने योजना बनाएको छ ।
विदेशी यात्रुहरु ल्याउने भएकोले जनकपुरमा पनि अध्यागमन, भन्सार तथा यात्रु सुरक्षा र उचित बसोबासको लागि स्तरीय होटलहरुको बन्दोबस्त भने गर्नुपर्ने अवस्था छ । विमानस्तरलाई अन्तर्राष्ट्रिय उडानका लागि अनुकूल बनाएमा जनकपुर अयोध्या अन्तर्राष्ट्रिय उडानमा समस्या नहुने बताइन्छ।
पहिले भगवान शिवजीको मन्दिर रहेको पशुपतिनाथको शहर काठमाडौंलाई शिवजीकै अर्को रुप मानिने विश्वनाथ बाबाको मन्दिर रहेको भारतको धार्मिक शहर बनारसलाई हवाई सेवाले जोडेको बुद्ध एअरले जनकपुर र अयोध्यालाई जोड्ने जमर्को गरेको छ ।
पहिले भुटानको थिम्पु, भारतको कोलकोता,पटना,बनारस,लखनऊ जस्ता शहरहरुमा अन्तर्राष्ट्रिय उडान गरेको बुद्ध एअरले हिन्दु धार्मिक ग्रन्थ रामायणका दुई धार्मिक गन्तब्य शहरहरुको उडान व्यवसायिक रुपमा चल्ने विश्वास गरेको छ ।
छोटो दूरी रहेकोले बुद्धसंग हाल उडानमा रहेकाएटीएआर विमानबाटै उडान गर्न सकिने भएकोले नेभिगेशन,पार्किंड.इन्धनबाहेक अतिरिक्त खर्च नलाग्ने बुद्धको व्यवस्थापनको दावी छ ।
बुद्ध एअरका प्रबन्ध सञ्चालक बस्नेतका अनुसार जनकपुर अधोध्याबीचको उडान १ घण्टाको हुनेछ । दिनभरि आन्तरिक उडान गरेका बुद्धका जहाजबाट साँझ ६ बजेपछि अयोध्या उडान गर्ने सोंच प्रबन्ध सञ्चालक बस्नेतको छ ।
‘काठमाडौंदेखि नेपालगञ्जबीच जत्तिकै दूरी भएकोले भाडा पनि सोही रेञ्जमा रहने बुद्ध एअरको अनुमान छ । नेभिगेसन र ग्राउण्ड ह्यान्डलिङ चार्ज बढी भयो भने सामान्य वृद्धि हुन सक्छ ।
बुध्द एयरले देशको हिमाली र पहाडी भेगका साना एअरपोर्टमा सेवा बढाउन ट्वीनओटर विमान पनि थप्ने जनाएको छ । हाल दैनिक १ सय उडान गर्दै आएको बुध्द एयरले औसत दैनिक ५ हजार ५ सय यात्रुलाई सेवा दिँदै आएको छ ।