Prakash Adhikari March 4, 2021

काठमाडौं २० फागुन । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारसँग माग गरेको छ ।

इपानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको बिजुली बिक्रीका लागि आवश्यकपर्ने नीति शीघ्र तय गर्न र कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । भारत सरकारकातर्फबाट त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले यही फागुन १४ गते जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिले बिजुली व्यापारका लागि सहज भएको इपानको भनाइ छ ।

नेपालभित्र उत्पादन भएको विद्युत् सरकारी तथा निजी क्षेत्रबाट भारतीय बजारसम्म लैजानका लागि मार्गप्रशस्त भएकाले त्यस्तो अवसरको सदुपयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । इपान अध्यक्ष कृष्ण आचार्यले नेपालको विद्युत्लाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउन कानूनी तथा प्राविधिकरुपमा तयारी गर्नुपर्ने र आवश्यक कठिनाइको तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्युत् विधेयक (ऐन) लाई तत्काल पारित गरी क्षेत्रीय बजारमा विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । आगामी पाँच वर्षभित्र देशको प्रणालीमा विद्युत्को कूल जडित क्षमता सात हजार १०० मेगावाट पुग्ने जानकारी दिँदै उहाँले देशभित्र पनि बिजुली खपतको वातावरण बनाउन एवं क्षेत्रीय बजारमा समेत व्यापार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

इपान उपाध्यक्ष आषिश गर्गले आन्तरिक तथा बाह्य बजारमा विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई प्रवेश दिइए सहज हुने धारणा राख्दै नेपाल विद्युत् प्राधिकरण एक्लैले व्यापार गर्न नसक्ने बताउनुभयो ।

उपाध्यक्ष गर्गले हाल देशको प्रणालीमा निजी क्षेत्रले ७३९.५ मेगावाट बिजुली उपलब्ध गराएको जानकारी दिनुभयो । पछिल्लो तीन वर्षमा मात्रै आफूहरुले ३७० मेगावाट बिजुली थप गरेको, तीन हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माणमा रहेको तथा दुई हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणमा जान ठिक्क रहेको उहाँको भनाइ छ ।

Share Now

Leave a comment.