म्याड्रिड(स्पेन), २१ फागुन (बीबीसी) । गत महिना स्पेनका राजा फिलिपे छैटौँका दुईजना दिदीहरूले संयुक्त अरब इमिरेट्सको आबुधावीको भ्रमणका क्रममा कोरोनाभाइरस विरुद्धको खोप लगाएको समाचार बाहिर आएपछि त्यसले राजनीतिक विवाद सृजना गरिदिएको छ।
राजकुमारीद्वय ५७ वर्षीय एलिना र ५५ वर्षीय क्रिस्टिनाले आफ्ना बुवालाई भेटन गएका बेला खोप लगाएको समाचार प्रकाशमा आएको थियो।
पूर्व राजा ख्वान कार्लोसले काण्डहरू चर्किएपछि सन् २०२० मा देश छोड्नुभएको थियो।
दुवै राजकुमारीहरू स्पेनको अहिलेसम्मको प्रावधानअनुसार खोप लगाउने उमेर समूहमा पर्नुहुन्न ।
दुवैले बुधवार आफ्नो निर्णयको व्याख्या र प्रतिरक्षा गर्नुभएको छ।
प्रतिरक्षा तर्क
‘हामी बुवालाई भेट्न गएका थियौँ, उहाँलाई निरन्तर भेट्न स्वास्थ्य प्रमाणपत्र आवश्यक पर्ने भएकाले हामीलाई खोप लगाउने प्रस्ताव आयो जुन स्वीकार गर्यौँ’, उनीहरूले बुधवार ईआई मुन्डो पत्रिकामा दिएको वक्तव्यमा उहाँहरुले भन्नुभएको छ।
परिस्थितिवश त्यसो गर्नुपरेको उल्लेख गर्दै राजकुमारीहरुले अन्यथा खोपको निम्ति स्पेनमै आएर आफ्नो पालो पर्खिने बताउनुभएको छ।
ख्वान कार्लोस गत अगस्ट महिनादेखि युनाइटेड अरब एमिरेट्समा स्वेच्छिक निर्वासनमा हुनुहुन्छ।
चर्किएको भ्रष्टाचार आरोपहरूकाबीच उहाँले आफूले कुनै गलत काम नगरेको बताइरहनुभएको छ।
उहाँको प्रस्थानले शाही परिवारबारेको छानबिन र बहसलाई प्रकाशमा ल्याइदिएको छ।
राजसंस्थाको गिर्दो साख
राजकुमारीहरूले खोप लगाएको समाचार पहिलो पटक ईआई कन्फिडेन्सियल समाचार अनलाइनले सार्वजनिक गरेको थियो।
त्यसपछि उहाँहरूको आलोचना गर्ने राजनीतकर्मीहरूमा समानता मन्त्री इरिन मोन्टेरो पनि सामेल हुनुभयो।
‘राजकुमारीहरूले खोप लगाएको खबर राजसंस्थालाई अविश्वसनीय बनाउन योगदान दिने थप समाचार हो। आम मानिसको निम्ति यसले पक्षपातपूर्ण उपचार र विशेषाधिकार स्थापित गर्छ’, उहाँले टीभीई नेटवर्कसँग भन्नुभयो।

अबुधाबीमा खोप लिँदै एक व्यक्ति (फाइल फोटो)
युनाइटेड अरब एमिरेट्समा ६० प्रतिशत जनसङ्ख्यालाई खोप दिइसकिएको छ
श्रम मन्त्री योलान्डा डियाजले त्यसलाई निकै अप्रिय र घिनलाग्दो घटना भन्नुभएको छ।
उहाँले भन्नुभयो, ‘हामी जसले कुनै प्रकारको प्रतिनिधित्व गर्छौँ, त्यसले उदाहरण प्रस्तुत गर्नुपर्छ।’
राजदरवारको सूत्रले राजकुमारीहरू संस्थाको औपचारिक सदस्य नरहेको आधार देखाउँदै पछिल्ला समाचारहरूप्रति रोयटर्ससँग टिप्पणी गर्न अस्वीकार गरेको छ।
तर उक्त सूत्रले राजा, रानी लेतिथिअ र उहाँका छोरीले आफ्नो पालोमा मात्र खोप लगाउने जनाएको छ।
स्पेनमा अहिलेसम्म ४० लाख खोप मात्र लगाइएको छ। अत्यावश्यकीय क्षेत्रमा काम गर्ने र ८० वर्ष माथिकालाई अहिले खोप दिने प्राथमिकतामा राखिएको छ।
यस्तै प्रकरण ज्यानुअरीमा पनि चर्चित बनेको थियो। त्यसबेला देशका उच्च सैनिक प्रमुख सहित उच्च अधिकारीहरूले पालो मिचेर खोप लिएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो।


















