Prakash Adhikari March 5, 2021

 

रोम(इटाली), २१ फागुन(बीबीसी) । इटली सरकारले कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका  खोप अष्ट्रेलिया पठाउन रोकिदिएको छ।

उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेका को कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ।

युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ।

उक्त नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ।

अष्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ।

सम्झौता विपरित
इटलीको कदममा युरोपेली आयोगको साथ रहेको समाचारहरूमा जनाइएको छ।

आस्ट्राजेनेका  यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ।

उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ।

ज्यानुअरी महिनामा इटलीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका  र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाउनुभएको थियो।

खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको व्यापक आलोचना भइरहेको छ।

गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।

खोप
इटलीको कदमबारे ईयू र अक्स्ट्राजेनिकाको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन।

अष्ट्रेलिया जोखम बाहिर 

अष्ट्रेलियाले गत सातादेखि फाइजर र बायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ।

आस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो।

अष्ट्रेलियाले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जनाएको छ।

त्यहाँका स्वास्थ्यमन्त्रीले इटलीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताउनुभएको छ।

आफूले चालेको कदम प्रकाश पार्ने क्रममा इटली सरकारले अष्ट्रेलिया जोखिममा रहेका देशमा नपर्ने बताउँदै ईयू र इटलीमा खोपको स्थायी अभाव रहेको जनाएको छ।

 

Share Now

Leave a comment.