काठमाडौं, २२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकोे प्रधानमन्त्री के.पी. ओली समर्थक समूहको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक दिउँसो ४ : ०० बजेका लागि बोलाइएको नेकपाका नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभएको छ।
आजको बैठकमा सांसदहरुको बहुमत आफनो क्षमा पारिदिन सहयोगको अपील गर्दै प्रधानमन्त्री के.पी. ओली शुक्रबार साँझ पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमको भैंसेपाटीस्थित निवास पुग्नभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको बहुमत केन्द्रीय सदस्यहरु रहेको प्रचण्ड नेपाल समूहले शुक्रबार सिंहदरबारमा बोलाएको संसदीय दलको बैठकमा १ सय ११ जना सांसदहरु सशरीर उपस्थित भएका थिए भने समूहको पक्षमा रहेका तर राजधानीबाहिर भएकाले ४ जना अनुपस्थित रहेका थिए ।
समूहका जेष्ठ सदस्य पूर्वप्रधानमनत्री झलनाथ खनालको अध्यक्षतामा बसेको सो बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ ।
सो समूहले बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको दावी गरेको छ ।
प्रचण्ड–माधव पक्षले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
आफ्नो पक्षमा प्रतिनिधिसभाका १ सय १५ जना सांसद रहेको दावी गरेको प्रचण्ड नेपाल समूहले शुक्रबारको बैठकमा पूर्वमन्त्री योगेश भट्टराई, पूर्वसभामुख कृष्णबहादुर महरा, सांसद विना पोखरेल र पूर्वमन्त्री चक्रपाणी खनाल भने अनुपस्थित रहेको बताएको छ ।
आइतबारदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।


















