मूलपानी(काठमाडौं), २५ फागुन । काठमाडौं मेयर्स कप अन्तरतग मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ ।
पुलिस क्लबले यसअघि बागमती प्रदेशलाई पराजित गरेको थियो भने सशस्त्र प्रहरीको टिमसंग पराजित भएको थियो।
त्रिभुवन आर्मी क्लव पहिलो खेलमा शसस्त्रसंग पराजित भएको थियो भने दोश्रो खेलमा काठमाडौँ मेयर्स ११ माथि विजयी भएको थियो।
मूलपानी क्रिकेट मैदानमा मंगलवार भएको खेलमा त्रिभुवन आर्मी क्लब ले दिएको ८८ रनको लक्ष्य नेपाल पुलिस क्लबले १८.३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको थियो ।
पुलिसका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए । यस्तै दिलिप नाथले १५ रन जोडे । पवन सर्राफले अविजित २२ रन बनाए । पवनले २६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
नेपाल प्रहरीको टिमलाई रोक्ने क्रममा बलिङमा त्रिभुवन आर्मी क्लबका शाहब आलमले ९ ओभरमा १ मेडन राख्दै ४५ रन खर्चेर ७ विकेट लिए । यो प्रतियोगिताकै उत्कृष्ट बलिंग प्रदर्शन हो।
त्यसअघि नेपाल प्रहरीको टिमले उत्कृष्ट प्रदर्शन गर्दा आर्मी ३०.१ ओभर खेल्दै ८७ रनमै अलआउट भएको थियो ।
त्रिभुवन आर्मी क्लबका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यसअघिका दुई खेलमा ओपनिङ गरेका लोकेशले नेपाल प्रहरी विरुद्ध भने नवौं नम्बरमा ब्याटिङ गरेका थिए ।
खेलमा विक्रमले १४ र रोहित पौडेलले १३ रन बनाए । यी तीन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आर्मीलाई अलआउट गर्न नेपाल प्रहरीका सागर ढकालले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चेर ५ विकेट लिए ।यस्तै पवन सर्राफले १० ओभरमा ५ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी ५.१ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए ।


















