काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतबाट पुनस्र्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिनुभएको छ ।
प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिर निस्कुभएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारका विभागीय मन्त्रीहरुद्धारा यसबीचमा ल्याएको अध्यादेशहरु टेबुल गर्ने, सबै दलका शीर्ष नेताद्धारा शुभकामना व्यक्त गर्ने र अघिल्लो अधिवेशनको समाप्तिपछि यो अधिवेशनको आजको बैठक आरम्भ हुने बेलासम्म दिवंगत भएका वर्तमान संसदका सदस्यहरु तथा भूतपूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीका तर्फबाट संवैधानिक परिषद्का काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशको विरुद्धमा विरोधको सूचना दर्ता गरिसकेका छन् ।
एमाले बाहेकका दलहरु सो अध्यादेश पारित गराउन नहुने मान्यतामा अडिग देखिन्छन । सर्वोच्च अदालतले ब्यूताएको एमालेमा पनि प्रधानमन्त्रीको कार्यशैलीप्रति असहमती जनाउने माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरुले सो अध्यादेशको विरोध गरेका छन् ।
बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ । नेताहरुले बोल्ने कार्यक्रम भएमा सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले बोल्ने बताइन्छ । प्रधानमन्त्रीले पुनस्थापित संसदलाई केही दिनपछि विशेष समयलिएर संबोधन गर्ने बताइएको छ ।