Prakash Adhikari March 12, 2021

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २८ फागुन(बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको बताउनुभएको छ।

राष्ट्रपति बाइडनले ले मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश दिने बताउनुभएको छ।

सबैलाई पालो आएपछि खोप लगाउन पनि उहाँले आह्वान गर्नुभएको छ।

एक वर्षको सामूहिक क्षति र बलिदानपश्चात् अब देशका सामु राम्रा दिनहरू आएको उहाँले बताउनुभयो।

जुलाई ४ को अमेरिकी स्वतन्त्रता दिवसको समयताका ससाना भेला गर्न सकिने सम्भावना बढेको पनि उहाँले बताउनुभयो।

कोरोनाभाइरसले अमेरिकामा ५ लाखभन्दा धेरैको ज्यान लिइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्ध अनि भियतनाम युद्ध र सेप्टेम्बर ११ को हमलामा मारिएका कूल अमेरिकीको सङ्ख्याभन्दा यो धेरै हो।

यसअघि राष्ट्रपति बाइडनले १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत् अमेरिकाको मेरुदण्ड पुनर्निर्माण हुनेतर्फ पहिलो पाइला चालिएको बताउनुभएको थियो।

उक्त प्याकेजबारेको कानुनमा हस्ताक्षर गरेपछि उनले उक्त टिप्पणी गरेका हुन्।

नगद सहयोग यसै सातादेखि
कोभिड राहत प्याकेजमार्फत् १४ सय डलरको प्रत्यक्ष नगद सहयोग यसै सप्ताहान्तदेखि नै बाँड्न थालिने बताइएको छ।

वर्षमा ७५ हजार डलरसम्म आम्दानी गर्ने प्रत्येक व्यक्तिले १४ सय डलर पाउनेछन्।

कर अधिकारीहरूले मानिसहरूको कर विवरण हेरेर व्यक्तिहरूलाई गरिने भुक्तानी निर्क्योल गर्नेछन्।

डोनल्ड ट्रम्पको पालामा दिइएको नगद सहयोगको बेला चेकमा ट्रम्पको हस्ताक्षर समेत रहेको थियो।

तर बाइडनले ती चेकमा आफ्नो हस्ताक्षर नराख्ने बताइएको छ।

स्रोत वितरण
यही प्याकेजमार्फत् राज्य तथा स्थानीय सरकारहरूले ३५० अर्ब डलर पाउनेछन्।

त्यस्तै विद्यालयहरू खुलाउन १३० अर्ब डलर अनि कोभिड १९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर उपलब्ध गराइनेछ। त्यसबाट कोभिड खोप कार्यक्रमलाई १४ अर्ब डलर उपलब्ध हुनेछ।

अमेरिकाको इतिहासमै सबभन्दा धेरै खर्च गर्ने प्रस्तावित भएको मध्येको सो कानुन पारित गर्दा एकजना पनि विपक्षी रिपब्लिकन सांसदले समर्थन गरेका थिएनन्।

माथिल्लो सदन सिनेट तथा तल्लो सदन प्रतिनिधिसभामा उक्त प्याकेज बहुमतद्वारा पारित भएको थियो।

सो प्याकेज आम अमेरिकीहरूमाझ भने समर्थन रहेको देखिएको छ। मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए।

 

Share Now

Leave a comment.