Prakash Adhikari March 13, 2021

 

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले)को शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ।

नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा १२ बजेबाट बैठक सुरु भएको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर महासचिव र आफूबाहेक सबै पदाधिकारीलाई खारेज गर्ने, जिम्मेवारी हेरफेर गर्ने र अन्य पार्टीका सदस्यहरुलाई सीधै केन्द्रीय समितिको सदस्य बनाएकोमा सो अवैधानिक कार्यको विरोध गर्दै समानान्तर संरचना विस्तार गरेको छ ।
यसक्रममा नेपाल खनाल समूहले एमालेका अध्यक्ष ओलीले पूर्वाग्रहपूर्वक जिम्मेवारीबाट मुक्त गर्नुभएका पदाधिकारी, अनुशासनसहित विभिन्न आयोगका पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ ।

नेपाल खनाल समूहले प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिएको छ।

त्यस्तै, युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ।

केन्द्रीय कमिटी अघि नेपाल खनाल समूहका स्थायी कमिटीका सदस्यहरुको बैठक पनि बसेको थियो ।

बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो ।

शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।

उहाँले नेकपा माओवादी केन्द्रवाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा बादल, खानेपानी मन्त्री मणि थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत नेताहरुलाई एमालेको केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी पनि दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीको भष्मासुरे निर्णयपछि नेपाल खनाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

नेपाल खनाल पक्षले प्रधानमन्त्र िओलीबाट शुक्रबार गरिएको काम कारबाहीले पार्टीमा विभाजन ल्याउन खोजेका भन्दै सो निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

 

Share Now

Leave a comment.