कीर्तिपुर(काठमाडौं), २९ फागुन । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुमित महर्जन कप्तानीको नेपाल पुलिस क्लबले शरद भेषावकर कप्तानीको सशस्त्र प्रहरी क्लवलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
खेलमा १ सय ६ रनको सहज लक्ष्य पाएको नेपाल पुलिस क्लबले २४.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो।
नेपाल पुलिसको जितमा ओपनर सुनिल धमलाले अर्धशतकीय पारि खेलेका थिए ।
नेपाल प्रहरीका सुनिल धमलाले अविजित ५९ रन बनाए भने अनिल साह र कुशल भूर्तेलले १५।१५ रन बनाए दिपेन्द्र सिंह ऐरीले अविजित ११ रन बनाए।
नेपाल पुलिसलाई रोक्ने क्रममा एपीएफका भुवन कार्की र अविनास बोहोराले समान १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।
यसअघि टस जितेर पहिले ब्याटिंग रोजेको एपीएफले २९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
एपीएफको ब्याटिंगमा मात्र ४ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके। उसका लागि बसन्त रेग्मीले सर्वाधिक २२, अमर सिंह राउटेला र सन्दिप जोराले समान १८ ।१८ तथा भुवन कार्कीले १४ रन बनाएका थिए।
सशस्त्रलाई रोक्ने क्रममा पुलिसको बलिंगमा गुल्सन झा र सागर ढकालले समान ४ । ४ विकेट लिए। यस्तै, पवन सरार्फ र ललित राजवंशीले समान १। १ विकेट हात पारे।
यसअघि प्रतियोगिताको लिग चरणमा पुलिस अंकतालिकाको पहिलो तथा एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिइ। दुवै टिमले समान ३ जित र १ हार ब्यहोरेका थिए तर नेट रन रेटमा पुलिस अघि रहेको थियो।
विजेता टोली नेपाल पुलिस क्लबले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता एपीएफले भने ३ लाख रुपैयाँमा जितेको छ ।


















