नयाँ दिल्ली (भारत),२४ माघ (बीबीसी) । माल्दिभ्समा राजनीतिक संकट गहिरिँदै जाँदा आवश्यक परेको खण्डमा आफ्ना सैनिकहरू माल्दिभ्समा खटाउनका लागि आफू तम्तयार रहेको भारतीय सेनाले बताएको छ।
विपक्षीले सैन्य ‘कू’ अर्थात् सेनाको सहयोगमा सत्तापलट गर्ने प्रयास गर्न लागेको दाबी गर्दै राष्ट्रपति अब्दुल्ला यामीनले माल्दिभ्समा यसै हप्ता संकटकालको घोषणा गरेका थिए।
आग्रह
त्यसको प्रतिक्रियास्वरूप त्यहाँ उत्पन्न राजनीतिक गतिरोध तोड्न पूर्वराष्ट्रपति मोहमद नाशीदले भारतलाई सेना सहितको दूत पठाउन आग्रह गरेका थिए।
जस्तोसुकै घटनाक्रमका लागि सेना तयारी अवस्थामा रहेको र तुरुन्तै परिचालित हुन सक्ने भारतीय सेनाका एकजना प्रवक्ताले बीबीसीलाई बताए।
यसअघि सन् १९८८ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपतिलाई सत्ताबाट हटाउन गरिएको प्रयासलाई विफल तुल्याउन भारतले आफ्ना सैनिक पठाएर त्यहाँ हस्तक्षेप गरेको थियो।
संकट
हाल निर्वासनमा रहेका नाशीद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो राष्ट्रपति हुन्।
माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति नाशीदसहित अन्य नौ जना विपक्षी नेताहरूविरुद्ध लागेका आरोप खारेज गर्दै उनीहरूलाई हिरासतमुक्त गर्न सरकारलाई आदेश दिएको थियो।
तर सो आदेश पालना गर्न सरकारले अस्वीकार गरेपछि माल्दिभ्समा संकट गहिरिएको हो।




















