काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, मोरङका पूर्वसभापति तथा संविधानसभाका सदस्य अशोक कोइरालाको निधन भएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा तथा विराटनगर नगरपालिकाका पूर्वप्रमुख कोइरालाको बिहिबार विहान १ बजे ७७ वर्षको उमेरमा विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व.सुशील कोइरालाका सहोदर अशोकले पनि प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहँदा ७ वर्ष जेल जीवन बिताउनु भएको थियो ।
स्वर्गीय कोइरालालेनेपाली कांग्रेसको वि भिन्न तहमा रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपाली कांग्रेसले उहाँको निधनमा एक विज्ञप्ति प्रकाशित गर्दै उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र निष्ठावान नेतृत्वलाई गुमाएको बताएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ,“नेपाली कांग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहत भएको छु ।
सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले निर्वाह गर्नु भएको भूमिका सधैं प्रशंसनीय रहेको बताउदै उहाँको निधनबाट सिङ्गो नेपाली कांग्रेसले एक असल र निष्ठावान अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको बताउनुभएको छ ।
सभापति देउवाले स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहने बताउदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै नेपाली कांगेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभएको छ ,’नेपाली कांग्रेस मोरङका पूर्व सभापति, संविधानसभा सदस्य, विराटनगरका पूर्व मेयर, सुशिल कोइराला फाउण्डेसन मोरङका सल्लाहकार अशोक कोइरालाको निधनको खबरले मलाई अत्यन्तै मर्माहत बनाएको छ । अशोक कोइरालाको निधनबाट नेपाली कांग्रेसले एक असल र महत्वपूर्ण अभिभावक गुमाएको छ। नेपाली कांग्रेसका पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाइ अशोक कोइरालाले नेपालको लोकतान्त्रीक आन्दोलनमा पुर्याएको योगदानको शब्दमा चर्चा गरेर सकिन्न ।’
वरिष्ठ नेता पौडेलले भन्नुभएको छ,’नेपाली राजनीतिमा कोइराला परिवारको योगदानमा अशोक कोइरालाको पनि उत्तिकै योगदान रहेको छ । साथै उहाँले गर्नु भएका असल कार्यहरु हामी सबैका लागि अनुकरणीय र स्मरणीय रहिरहने छ्न । यो दुखको घडिमा म उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले उहाँले निधनले आफू मर्माहत भएको बताउदै भन्नुभएको छ,’नेपाली कांग्रेस माेरङका पूर्वसभापति, विराटनगर महानगरपालिकाको पूर्व मेयर, संविधानसभा सदस्य श्रद्देय अशाेक काेइरालाकाे निधनले स्तब्ध बनाएकाे छ । नेपालकाे प्रजातान्त्रिक आन्दोलनका अथक याेद्दा काेइरालाको याेगदान नेपाली जनताले सँधै सम्झिरहनेछन् । जस्ताेसुकै कठिन परिस्थितिमा पनि देश, जनता र लाेकतन्त्रकाे पक्षमा उभिने उहाँकाे दृढता हाम्रा लागि मार्गदर्शन बन्ने नै छ ।’
त्यस्तै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उहाँले निधनले आफू मर्माहत भएको बताउदै भन्नुभएको छ,’नेपाली कांग्रेस मोरङका पूर्व सभापति,संविधान सभा सदस्य,आदरणीय अशोक कोइरालाको निधनले स्तब्ध र मर्माहत बनाएको छ।कोइरालाले नेपालको लोकतान्त्रीक आन्दोलनमा पुर्याउँनुभएको योगदान हामी सबैका लागि अनुकरणीय र स्मरणीय रहिरहने छ।परिवारजनमा समवेदना र अशोक दाईप्रति श्रद्धाञ्जली।’


















