काठमाडौं, ६ चैत्र । नेपाल राष्ट्र बैंकले नमस्ते पे लाई भुक्तानी सेवा सञ्चालन गर्न अनुमति दिएको छ ।
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा स्थापना भएको नेपाल डिजिटल कम्पनीलाई राष्ट्र बैंकले मोबाइल भुक्तानी सेवा सञ्चालनको अनुमति दिएको हो ।
राष्ट्र बैंकले २०७७ चैत ४ गते नेपाल डिजिटल कम्पनीलाई ‘नमस्ते पे’ सेवा सञ्चालन गर्ने अनुमति (लाइसेन्स) प्रदान गरेको हो ।
यसमा टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याइने छ । मोबाइल नम्बरमै बैंकमा जस्तै रकम जम्मा गर्ने सुविधा हुनेछ ।
यसमा बिना इन्टरनेट भुक्तानी गर्न मिल्ने मोबाइल सेवा दिइने बताइएको छ । मोबाइल एप्स, क्यूआर कोडलगायतका सबै नयाँ सेवा रहने नमस्ते पे मा स्मार्टफोन प्रयोग नगर्ने उपभोक्ताले पनि डिजिटल कारोबार गर्न सक्नेछन् ।
नमस्ते पेको चुँक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । यसमा नेपाल टेलिकमको २५ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १५ करोड रुपैयाँ लगानी रहेको छ ।
२०७७ कात्तिकमा राष्ट्र बैंकका आवदेन गरिएकोमा करिब ४ महिनापछि डिजिटल पेमेन्ट कारोबारका लागि नमस्ते पेले स्वीकृती प्राप्त गरेको हो ।