काठमाडौं, ६ चैत्र । प्रतिष्ठित बाणिज्य बैंक नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले ऋणपत्र निष्काशन गर्ने भएको छ ।
चैत १३ गतेदेखि सार्वजनिक निष्काशनमा आउने ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताहरुले बार्षिक ९.५ प्रतिशत व्याज पाउने छन् ।
‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ नाम रहेको उक्त ऋणपत्रको प्रति कित्ता एकहजार मूल्य तोकिएको छ । ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरिने छ।
सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री अवधि छिटोमा चैत १८ गते र ढिलोमा चैत २७ तोकिएको छ।
१० वर्षको अवधि रहेको सो ऋणपत्रको व्याज बैंकले आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने छ ।
इक्रा नेपालले यस ऋणपत्रलाई इक्राएनपी एल त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिएर ऋणपत्रमा लगानी गर्न सक्नेछन् ।