मस्को(रुस), ६ चैत्र(बीबीसी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनको टिप्पणीको प्रत्युत्तर दिनुभएको छ।
रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै ‘त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ’ भन्नुभएको छ। अमेरिकी राष्ट्रपतिले पुटिनलाई आफूले ‘हत्यारा’ ठानेको बताउनुभएको थियो।
पुटिनले आफ्ना सुरक्षा निकायहरूले विपक्षी नेता एलेस्की नभाल्नीलाई मार्ने प्रयास गरेको भन्ने आरोपलाई अस्वीकार गर्नुभएको छ।
बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले ‘मूल्य तिर्नुपर्न’ बताउनुभएको थियो।
त्यसपछि रुसले वाशिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको ूअपरिवर्तनीय क्षतिू हुन नदिन भन्दै परामर्शका लागि फिर्ता बोलाएको थियो।
पुटिनले थप भनाई
बाइडनका आरोपहरू अस्वीकार गर्न पुटिनले विद्यालयका बालबालिकाले खेलका बेला प्रयोग गर्ने भनाइको सहारा लिनुभयो।
पुटिनले भन्नुभयो, ‘बाल्यावस्थामा हामी खेल मैदानमा बहस गर्दा भन्ने गरेको सम्झन्छु- त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ।’
‘अनि त्यो संयोग होइन, ठट्टा वा बालबालिकाले भन्ने कुरा मात्र पनि होइन। त्यसको गहिरो मनोवैज्ञानिक अर्थ छ। हामीले सधैँ आफ्ना लक्षण अरूमा देख्छौँ र उनीहरू आफूजस्तै ठान्छौँ। फलस्वरूप उसका कामको समीक्षा गर्दै आकलनहरू गर्छौँ।’
पुटिनले अमेरिकालाई अमेरिकीहरूविरुद्ध नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोप लगाउनुभयो।

पुटिन-डोनल्ड ट्रम्प
त्यसअघि नै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ूत्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्याउनेू बताउनुभएको थियो।
बीबीसीकी मस्को संवाददाता सारा रेन्स्फर्ड भन्नुहुन्छ,’ यहाँका सरकारी सञ्चारमाध्यमहरूले आक्रोशित भएर अमेरिकी राष्ट्रपतिले पराकाष्ठा नाघेको टिप्पणी गरेका छन् भने विश्लेषकहरूले त्यसलाई ‘अपमान’ मानेका छन्।’
अमेरिकी गुप्तचर प्रतिवेदनमा के थियो ?
रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे बाइडनले एबीसीको अन्तर्वार्तामा टिप्पणी गर्नुभएको थियो।
मङ्गलवार सार्वजनिक १५ पृष्ठको उक्त प्रतिवेदनमा पुटिनले निर्वाचनमा हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ।
त्यससमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्न धेरै उपायहरू अपनाएको उल्लेख छ।
ती उपायमा मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई थप चर्काउने आदि भएको जनाइएको छ।
मस्कोले ती आरोपहरू अस्वीकार गरेको छ।
दश वर्षअघि ओबामा प्रशासनमा उपराष्ट्रपति हुँदा बाइडनले अस्थायी रूपमा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुटिनलाई क्रेम्लिनमा भेटनुभएको थियो ।
‘मैले भनेँ प्रधानमन्त्रीज्यू मैले तपाईँको आँखामा हेरिरहेको छु, मलाई लाग्दैन तपाईँसँग आत्मा छ’, त्यसको केही वर्षपछि उहाँले न्यूयोर्करसँगको अन्तर्वार्तामा भन्नुभएको थियो।
‘उहाँले मलाई हेरेर र मुस्काउँदै भन्नुभयो हामीले एकअर्कालाई बुझ्छौँ।’
निर्वाचनभन्दा अगाडि गत वर्ष बाइडनले पुटिनको सोभियत गुप्तचर निकायमा रहेको अनुभवलाई सङ्केत गर्दै ‘केजीबीको ठग’ भन्नुभएको थियो।


















