–तारानाथ आचार्य
पैंयुथन्थाप (बाग्लुड.) । जैमिनी नगरपालिका– ९ पैंयुथन्थापका प्रेमप्रसाद शर्माको गाउँ छोड्ने साइत वैशाख १ गतेका लागि जुरेको छ । पहिराले गाउँ नै जोखिममा परेपछि उहाँले चितवनमा भाडामा घर खोजेर परिवार लैजाँदै हुनुहुन्छ ।
गत असार ३० गते बिहानको पहिराले पैंयुथन्थाप उच्च जोखिममा परेपछि सो गाउँमा बस्ने अधिकांश परिवार विस्थापित हुनुपर्ने अवस्था रहेको जनाइएको छ । प्रेमका दाजु टीकाराम शर्माले पनि आफ्नो घर गोठ पुरिएपछि गाउँ छोडर पैंयुथन्थापकै घ्युरमा अर्कैको घरमा बस्न थाल्नुभएको छ । “गाउँ, छिमेकी र भएको खेतिपाती छोडेर जाने मन त थिएन तर बस्ने ठाउँ नै सुरक्षित नभएपछि हिँड्नुप¥यो”, उहाँले भन्नुभयो, “एकैठाउँमा बसेका हामी दाजुभाई प्रकृतिले छुट्याउँदै छ ।”
पैंयुकै उमादेवी शर्माको परिवार पनि गाउँ छोड्ने सोंचमा छ । एउटै गाउँमा रहेका सात परिवार आउँदो हिउँदसम्ममा तितरवितर हुने अवस्थामा पुगेको स्थानीयवासी गङ्गा शर्माले बताउनुभयो । घरमाथिको गाउँ पहिराले पुरेको देखेका विशाल पौडेल आउँदो वैशाखमा गाउँ छोड्दै हुनुहुन्छ । परिवारसहित उहाँ चितवनमा बस्न घर खोजेर जाने तयारीमा लाग्नुभएको हो । गत भदौ २९ गते जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनीबोटमा आएको पहिरो सम्झँदा अहिले पनि उहाँको मुटु फुलेर आउँछ । आँखैअघि पुरिएका सात घरको तलपट्टि रहेका घरमा आउँदो बर्खामा बस्न सकिदैन जस्तो लागेर उहाँ परिवारसहित बसाइँसराइको तयारीमा लाग्नुभएको हो ।
टुनिबोटका डाक्टर अर्जुन पौडेलको घर नजिकैका छिमेकीको घर भदौ २९ को पहिराले पुरेको हो । पहिराले छिमेकीको घर पुरिँदा अर्जुन घरमै हुनुहुन्थ्यो । पाखोबाट आएको माटो घर छेउको सडकमा बझारिएर आएको हिलो कपालभरी भएको उहाँले बिर्सिनै सक्नुभएको छैन । दाजुभाइ र आफू कामका लागि सधैँ बाहिर हुने भएकाले घरमा बाबुआमा मात्रै हुनुहुन्छ । अर्जुनलाई पनि टुनिबोट गाउँ नछोडे सुरक्षित भइँदैन जस्तो लागेको छ । “आमा बुबालाई मात्रै कसरी एक्लै छोड्ने आउँदो बर्खामा हाम्रो घरमाथि पनि पहिरो आउला जस्तो डर लाग्छ”, पौडेलले भन्नुभयो, “केही व्यवस्था गरेर ढिलो चाँडो गाउँ त छोड्नै पर्छ ।”
टुनीबोटमै व्यापार व्यवसायसमेत गर्दै आउनुभएका केदार पौडेलले फागुन महीनाको पहिलो साता नै गाउँ छोड्नुभयो । उहाँले चितवनमा घर बनाएर बसाइँ सर्नुभएको हो । पहिराको त्रासले अघिल्लो बर्खायामदेखि नै बसाइँसराइको तयारीमा रहनुभएका पौडेल टुनिबोटमा रहेको किराना पसल र गाई फार्म छोडेर परिवार जोगाउन चितवन झर्नुभएको हो ।
भदौ २८ गते बिहान टुनीबोटमै गएको पहिरामा पुरिएर आमा गुमाउनुभएका देवराज शर्मा पनि टुनीबोटको गाउँ छोडेर हिँडिसक्नुभयो । सरकारले पुनःस्थापना गर्ला भन्ने आशामा बस्नुभएका पीडित शर्माको परिवार अर्को वर्षाको समय शुरु हुने बेलासम्म पहिराले क्षति पु¥याएको घरमा बस्न नसकेर गाउँ नै छोडेर हिँडेको हो । पहिराले घर पुरिएर मृत्यु भएका टुनीबोटकै हरिकृष्ण शर्माको परिवारले पनि गाउँ छोड्यो । यहाँ पुनःस्थापना हुने कुनै गुञ्जायस नपाएपछि आफन्तको शरण माग्दै उनीहरु चितवन नै झरेका हुन् ।
भदौ २८ र २९ को पहिराका कारण टुनीबोटका दुई जनाले ज्यान गुमाएका थिए भने आठ घर पुरिएका थिए । त्यहीँ पहिराको त्रासका कारण कुनैबेला मौरीको गोला जस्तो गाउँ अहिले उजाडिँदै गएको छ । “४० परिवार मिलेको गाउँ थियो, अर्मपर्म, जन्ती मलामी कस्तो मिलेर काम गरेका थियौँ”, स्थानीयवासी विकास पौडेलले भन्नुभयो, “अन्तै जाने अवस्था नभएकै कारण केहीले मात्रै त्रासमा यहाँ रात काट्लान अरु सबै हिँडे, गाउँ त उजाडियो ।” टुनीबोट धेरै शिक्षक रहेको गाउँका रुपमा परिचय बनाएको गाउँ हो । शिक्षण पेशामा रहेका आठ÷दश परिवार र अन्त कतै घरबास बसाउन सक्ने उपाय नरहेका मात्रै गाउँमा रहने उहाँले बताउनुभयो ।
“घर पुरिएका आठ परिवारमध्ये दुई परिवार यहाँबाट हिँडे अरुले सरकारको बाटो हेरिरहेका छन्”, उहाँले भन्नुभयो, “आशामा बसेकालाई आश्रय गाउँमै दिइएको छ, तर आउँदो बर्खासम्म कोही पनि यहाँ बस्नेवाला छैनन् ।” पौडेलका अनुसार, अब टुनीबोटमा १० देखि १५ परिवार कठिनले बस्नेछन् । यहाँ दुई ठाउँमा पहिरा गएको छ । दुवै पहिराको आसपासमा रहेका घरपरिवार बिस्थापित भएका हुन् । गाउँमाथि बागलुङ–कुश्मीशेरा बजार जोड्ने सडक छ । त्यहाँभन्दा माथि रहेका वन क्षेत्रबाट गत बर्खाको समयमा दर्जन बढी पहिरो गाउँमाथि खसेका थिए । पहिराकै कारण गाउँ विस्थापित भएको स्थानीयवासी दीपेन्द्र पौडेल बताउनुभयो ।
पहिराले घर पुरेको लामो समयसम्म आश्रयमा बसेका परिवारको लागि केही दाताको सहयोग र मृतक परिवारका लागि नगरपालिकाले काजकिरिया खर्च उपलब्ध गराएको थियो । गृहमन्त्रालय र प्रदेश सरकारको तोकिएको राहत पाएका पीडितले विस्थापित भएपछिको पुनःस्थापना कुरेर बसिरहेका छन् । तर सरोकारवालाले भने छ महीना बितिसक्दासमेत कुनै कार्यक्रम ल्याएका छैनन् । “हामी दुई वटा काम गरिरहेका छौँ, एउटा विपद् व्यवस्थापन कोषमार्फत नगरले उनीहरुलाई पुनःस्थापना गर्ने र अर्को सरकारको कार्यक्रमअनुसार अघि बढ्ने”, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भन्नुभयो, “सङ्घीय कार्यक्रम पर्खिंदा हामी ढिला भयौँ ।”
सङ्घीय सरकारले आफ्नो कार्यक्रमका विषयमा अहिलेसम्म नगरपालिकालाई कुनै जानकारी नगराएको पौडेलले बताउनुभयो । विस्थापित भएर जानेका कारण गाउँमा बस्नेका लागि पनि समस्या हुन थालेका छन् । कृषिमा आधारित गाउँमा अर्मपर्म मेलापात गर्ने पाइनै छोडेका छन् । टुनीबोट दूध उत्पादनको हिसाबलेसमेत आफ्नो परिचय बनाएको गाउँ हो । यहाँ दैनिक ३०० लिटरभन्दा धेरै दूध उत्पादन हुन्थ्यो । गाउँ नै खाली भएपछि दूधको उत्पादनसमेत घटेको पौडेलले बताउनुभयो । “एकअर्काका आधारमा चलिन्थ्यो, सबै हिँडेपछि एक्लोपन महशुस भइरहेको छ”, उहाँले भन्नुभयो, “आफ्नो खेती गरेर खान पनि समस्या हुने भो ।”
पैंयुथन्थाप, विनामारे, कु्श्मीशेरा अर्जेवा, जैदी र राङ्खानीबाट कैयौँ परिवार यो हिउँदमा बाढीपहिराको त्रासका कारण विस्थापित भएका छन् । गाउँ खालि भएका भएपनि छोडेर जानेको तथ्याङ्क भने छैन् । पहाडमा रहेका घर गोठ र खेतीपाति यत्तिकै छोडेर तराईका जिल्लामा जानेको सङ्ख्या धेरै रहेको जैमिनी नगरपालिका–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभयो । गाउँ खालि भएपछि बाँदर, दुम्सीजस्ता जङ्गली जनावरले लगाएको खेतीमा समेत क्षति पु¥याउने गरेका छन् ।


















