काठमाडौं, ८ चैत्र ।भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
मन्त्रालयले देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन आइतवार विज्ञप्तिमार्फत् अनुरोध गरेको छ।
भारतमा पछिल्लो चार महिनामा सबैभन्दा धेरै दैनिक सङ्क्रमण शनिवार पुष्टि भएको थियो।
शनिवार त्यहाँ ४० हजार ९ सय ५३ जना सङ्क्रमित भएको पुष्टि भएको थियो।
नेपालमा सत्तारूढ दलभित्र देखिएको अन्तरकलह र त्यसले पारेको राजनीतिक प्रभावका कारण दैनिकजसो भिडभाडयुक्त जमघट हुने गरेका छन्।

भारतमा पुनः बढ्न थाल्यो प्रकोप
भारतमा कोभिड प्रकोप बढ्दै गएपछि मुम्बई सहरमा भिड हुने स्थानमा अनिवार्य कोरोनाभाइरस परीक्षण गर्नुपर्ने नियम ल्याइने भएको छ।
स्थानीय सरकारका अनुसार किनमेल केन्द्र र रेल स्टेसनहरू जस्ता स्थानमा छानिएका केही व्यक्तिहरूलाई सोमवारदेखि द्रुत परीक्षण गरिने छ।
छानिएका व्यक्तिले परीक्षण गर्न अस्वीकार गरेमा कारबाही गरिने बताइएको छ।
भारतमा हालसम्म १ लाख ५९ हजार भन्दाबढीको कोभिडका कारण मृत्यु भइसकेको छ। त्यहाँ हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख नाघिसकेको छ।
मुम्बईको अवस्था
हालैका हप्तामा भारतमा छिटो सर्ने प्रकारको कोरोनाभाइरस भेटिएको र सङ्क्रमण बढ्दो क्रममा रहेको छ।
मुम्बईमा शनिवार २ हजार ९ सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो
सोमवारदेखि त्यहाँका भिड हुने स्थानमा अनिवार्य द्रुत परीक्षण कार्यक्रम सुरु गरिने अधिकारीहरूले बताएका छन्।

स्थानीय निकायमा आयुक्तले इन्डिया टुडेलाई मुम्बईको व्यस्त क्षेत्रमा प्रवेश गर्ने जोसुकै पनि एन्टीजेन परीक्षणका लागि तयार हुनुपर्ने बताएका छन्।
किनमेल केन्द्रमा बाहेक अन्य स्थानमा ती परीक्षणहरू निःशुल्क हुने छन्। किनमेल केन्द्रमा भने जसको परीक्षण गरिएको हो उसैले शुल्क तिर्नुपर्ने छ।
अधिकारीहरूले परीक्षणमा सहभागी हुन नचाहनेलाई के कारबाही हुन्छ भन्ने खुलाएका छैनन्।
विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमण हुने देशमा भारत तेस्रो स्थानमा छ भने मृत्यु हुनेमा चौथो स्थानमा छ।
सन् २०२१ को सुरुताका सङ्क्रमण कम हुन थाले पनि स्वास्थ्य सावधानीहरू नअपनाइएका कारण त्यहाँ पुनः सङ्क्रमण बढ्न थालेको चिकित्सकहरू बताउँछन्।
हालैका साताहरूमा भारतमा ज्यादा सङ्क्रमितहरू रहेको महाराष्ट्रमा धेरै नयाँ सङ्क्रमण देखिन थालेका छन्। मुम्बई महाराष्ट्रमा पर्छ।
सात अन्य राज्यहरू केरला, पन्जाब, कर्नाटक, गुजरात, तमिलनाडु, हरियाणा र मध्य प्रदेशमा पनि सङ्क्रमण बढेको देखिएको छ।
खोप कार्यक्रमको प्रभाव

भारतका केही स्थानमा लकडाउन वा भोजनालय बन्द जस्ता प्रतिबन्धहरू पुनः लगाइएका छन्।
बीबीसीका भारत सम्वाददाता सौतिक विश्वासका अनुसार भारतमा फेब्रुअरीमा कम भएको सङ्क्रमणको फाइदा कायम नरहने स्पष्ट खतरा देखिएको छ।
भारतमा ज्यानुअरीमै खोप कार्यक्रम सुरु भएको थियो।
हालसम्म कम्तीमा एक मात्रा कोभिड खोप लगाउने नागरिकको सङ्ख्या चार करोड पुगेको बताइएको छ।
हाल बढी उमेर समूहका व्यक्तिहरूलाई लक्षित खोप कार्यक्रम चाँडै नै अरूलाई उपलब्ध हुने बताइएको छ।(बीबीसी)


















