Prakash Adhikari March 28, 2021

काठमाडौं, १५ चैत्र । म्यानमारमा निर्वाचित सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेको सैनिक नेतृत्वले जननिर्वाचित सरकारको पुनर्बहालीको लागि भएको आन्दोलनमा दमन गर्दै मच्चाएको नरसंहारको नेपाली कांग्रेसले विरोध गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार एक विज्ञप्ति जारी गर्दै त्यहाँ भएको हिंस्रक दमनको कडा विरोध गर्दै म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति एक्यवद्धता जनाउनुभएको छ ।

म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा गरिरहेको नरसंहार अत्यन्तै अमानवीय र निन्दनीय छ भन्दै उहाँले भन्नुभएको छ, जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकि लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनस्र्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले विश्वका जुनसुकै राष्ट्रमा हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यवद्धता जनाउने नीति पार्टीले अवलम्बन गरेको जनाउदै भन्नुभएको छ, म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालि रहेका छौं । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ ।

सैनिक दमनविरुद्ध लोकतन्त्रका पक्षमा आफ्नो अभिमत प्रकट गर्दै नेपाली कांग्रेसले म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी लिन सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गरेको छ ।

 

Share Now

Leave a comment.