बाग्लुड., १५ चैत्र । बाग्लुड.को राजकूतमा नेपाल कम्युनिष्ट पार्टी माओवादीसम्बद्ध कार्यकर्ताहरुले नेपाली कांंग्रेसका जिल्ला नेता र कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेका छन् । आक्रमणमा घाइते हुनुभएका जिल्ला कार्य समितिका सदस्य प्रकाश कुँबर र क्रियाशिल सदस्य दीपक परियारको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
नेपाली कांग्रेसबाट बाग्लुड. क्षेत्र नं २ ख बाट प्रदेशसभा सदस्यको प्रत्यासी बन्नुभएका जीत शेरचनले दिनुभएको जानकारी अनुसार दिउँसो ३ : ३० बजेतिर सो घट्ना भएको थियो ।
नेकपा माओवादीका कार्यकर्ता र समर्थकहरुको बाहुल्यता भएको सो स्थानमा फागु खेल्ने क्रममा सामान्य भनाभन बढ्दै गएर हिंसात्मक रुप लिएको थियो ।
नेकपा माओवादीका कार्यकर्ता झुनबहादुर बुढाको नेतृत्वमा आएको करिब ४० जनाको हतियारधारी समूहले निर्धात हतियार प्रहार गर्दा दुई जनालाई घट्नास्थलमा मरणासन्न पारिएको थियो भने अन्य केही गम्भीर घाइते भएको जनाइएको छ ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले आफ्नो पार्टीका लगभग १४।१५ जना कार्यकर्ता झडपपछि बेपत्ता भएको र सम्पर्कमा नआएको सूचना आफूलाई आएको तर रातको समय भएकोले पुष्टि गर्न कठिन भएको आइतबार राति बताउनुभएको थियो ।


















